बागमती प्रदेशसभाको बैठक सुरु

तु खबर संवाददाता
२०७९ असार १४, मंगलवार १२:५३

मकवानपुर । बागमती प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याएको बजेटमाथि छलफल गर्न मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको भएपनि केही समय ढिलो गरी बैठक सुरु भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हटेसँगै सोमबारबाट प्रदेशसभामा सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि छलफल सुरु भएको हो । सोमबार बसेको बैठकमा ९ वटा विषयगत मन्त्रालयहरुको बजेटमाथि छलफल भएको थियो र आज बाँकी छलफल हुने जनाइएको छ । हिजोको बैठकमा सत्तापक्षले सरकारले ल्याएको बजेट जनमुखी भएको भन्दै स्वागत गरेका थिए भने प्रतिपक्षले सरकारले चुनावलक्षित असन्तुलित बजेट ल्याएको भन्दै विरोध गरेका थिए ।

प्रतिपक्षी दल एमालेले बजेटमा व्यवसायीलाई फाइदा पुग्ने गरी करको दर निर्धारण गरेको, चुनाव केन्द्रित बजेट ल्याएको,एउटै योजना बजेट पुस्तिकामा धेरै स्थानमा दोहोरिएको र विगतको सरकारले ल्याएका बृहत प्रकारका योजनाहरु कटौती गरेको आरोप छ ।