मकवानपुरका उपासक नुवाकोटमा सम्मानित
मकवानपुर । साहित्य संगम नुवाकोटद्वारा हरेक वर्ष प्रदान गरिने ‘संगम साहित्य सम्मान पुरस्कार–२०७९’ बाट मकवानपुरका युवा कवि/गजलकार मसान उपासक सम्मानित भएका छन् । शनिबार नुवाकोटमा आयोजित एक कार्यक्रममा नगदसहित उक्त पुरस्कार संस्थाकी अध्यक्ष एवम् साहित्यकार सुमित्रा सुमीसँगै प्रमुख अतिथि रामचन्द्र भट्टले सो पुरस्कार उपासकलाई प्रदान गरेका हुन् ।
उपासकले कार्यक्रममा आधा दर्जन बढी कविताहरु वाचन गरेका थिए । उनीसँगै दाङका युवा गजलकार वसन्त ओली र नुवाकोटे गजलकार ईश्वर पौडेलले आफ्ना आधा दर्जन भन्दा बढी कविता सुनाएका थिए । तीनै जना युवा गजलकार/कवि उपासक, गजलकार बसन्ती र गजलकार पौडेललाई नगदसहित ‘संगम साहित्य सम्मान पुरस्कार–२०७९’ बाट सम्मान गरिएको हो ।
मकवानपुरका युवा कवि/गजलकार मसान उपासकले यसै बर्ष ‘मानचित्रमा देश’ कविता सङ्ग्रह र ‘अक्षर आराधन’ गजल सङ्ग्रह एकैसाथ प्रकाशन गरेका थिए । उनलाई कृति प्रकाशनपश्चात गजल मञ्च मकवानपुरले यसै बर्ष सम्मान गर्नुका साथै संयुक्त वाचनसमेत आयोजना गरिसकेको छ ।
उक्त कार्यक्रममा उपस्थित दर्शक साहित्यकारहरूले पनि आ—आफ्ना रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रलेस नुवाकोटका अध्यक्ष रामहरी गजुरेल, पूर्वअध्यक्षहरु नवदिप अजनवी, राजकुमार पुत्लालगायतको आतिथ्यता रहेको थियो ।
