वनदेवी आधारभूत विद्यालयको आयोजनामा स्थलगत निबन्ध प्रतियोगिता
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा वनदेवी आधारभूत विद्यालयले सोमबार स्थलगत निबन्ध प्रतियोगिता आयोजना गरेको छ । ‘कोरोनाले शिक्षामा पारेको प्रभाव’ भन्ने विषयमा हेटौंडा उपमहानगरपालिका वडा नं. ७, ८, १४ र १५ का सामुदायिक तथा संस्थागत विद्यालयका आधारभूत तह (६–८) का विद्यार्थीहरू प्रतियोगितामा सहभागी थिए ।
सो प्रतियोगितामा तासिर इङ्लिस बोर्डिङ स्कुलकी सिमोन भट्टराई प्रथम, वनदेवी आभारभूत विद्यालयकी उर्जना घले द्धितीय, नवज्योति माध्यमिक विद्यालयकी प्रमिला थिङ तृतीय भए भने माउन्ट एभरेष्ट इङ्लिस बोर्डिङ स्कुलकी नितिशा बराल र चन्द्रोदय माध्यमिक विद्यालयकी विशाका देउलाले सान्त्वना स्थान हाँसिल गरे । कार्यक्रममा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुन सफल विद्यार्थीहरूले क्रमशः नगद ६०००, ४०००, २००० र १५०० राशीसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा निवृत्त शिक्षक ध्रुबकुमार भुजेल , शिक्षकहरू ज्योती न्यौपाने र अनु रोक्का निर्णायकको भूमिकामा रहेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर घिमिरेको अध्यक्षता, शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्यता र हेटौँडा उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष सुनिल मोक्तानको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा शिक्षक महासंघ मकवानपुरका जिल्ला अध्यक्ष जिधराज ढकाल, १५ नं. वडा प्रतिनिधि मेनु विश्वकर्मा, विद्यालयकी शिक्षक भावना सापकोटालगायतको उपस्थिति रहेको थियो ।

