गठबन्धन सरकार धेरै समय टिक्दैन : पूर्वमन्त्री लामा

तु खबर संवाददाता
२०७९ असार १३, सोमबार १८:१२

मकवानपुर । नेकपा एमालेका नेता एवम् बागमती प्रदेशसभा सदस्य दावा दोर्जे लामाले वर्तमान सत्तारुढ गठबन्धन धेरै समय नटिक्ने बताएका छन् । बागमती प्रदेशको पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री समेत रहेका लामाले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटको विषयगत मन्त्रालय माथिको छलफलका क्रममा बोल्दै सो कुरा बताएका हुन् ।

मन्त्री लामाले जनताले गठबन्धनभन्दा पनि वाम एकता खोजेको बताएका हुन् । उनले भने, ‘जनता बाम एकताको पक्षमा छन् । त्यसैले यो गठबन्धन धेरै दिन टिक्दैन ।’

उनले थपे, ‘सरकारले निरंकुशताको बाटो रोजेको छ । म सरकारमा रहेका साथीहरुलाई स्मरण गराउन चाहन्छु छिट्टै नै राणा काल र पञ्चायतको हालत वर्तमान गठबन्धनको हुन्छ । तपाई हामीलाई थाहा छ, जनताको अहितमा काम गर्ने कुनैपनि शासन सत्ता लामो समयसम्म टिकेको छैन । त्यसैको उपज हो अहिले देशमा न राणा काल छ न पञ्चायत ।’

मन्त्री लामाले वर्तमान सरकारले जनताको हित हुने खालको भन्दा पनि कार्यकर्ता पाल्ने कामका लागि मात्रै बजेछ ल्याएको आरोप लगाए । उनले कृषि अनुदान वितरणमा गलत नियत राखेर काम गर्नेहरुलाई कानुनी कारवाहीमा ल्याउन नसकेर सरकारले कृषकलाई मार पर्ने गरी अनुदान नै खारेज गरेको बताए ।