हेटौंडामा मापसे चेकिङमा कडाई गरिने, ५ वटा मेसिन सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई ब्रेथलाइजर मेसिन सहयोग गरेको छ । मादक पदार्थ सेवनबाट दैनिक भइहेको सवारी दुर्घटना न्यूनीकरणका लागि उपमहानगरले सक्रियता देखाउँदै मेसिन सहयोग गरेको हो ।
उपमहानगरकी मेयर मीना लामा र उपमेयर राजेश बानियाँले ट्राफिक प्रहरी प्रमुख निरीक्षक मुनेन्द्र थापालाई ५ वटा मेसिन हस्तान्तरण गरेका हुन् । करिब ५ लाख रुपैयाँ बराबरको मेसिन सहयोग गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
‘ट्राफिकका लागि आवश्यक सामग्री हामीले हस्तान्तरण गरेका हौं । सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि आगामी दिनमा पनि हामी हातेमालो गर्न तयार छौं ।’, मेयर लामाले भनिन् । उनले मेसिनले सवारी दुर्घटना न्यूनीकरण पुग्नेमा विश्वास व्यक्त गरिन् ।
ट्राफिक प्रहरी प्रमुख निरीक्षक मुनेन्द्र थापाले बजारको ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना घटाउन उपमहानगरसँग सदैव सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले दैनिकरुपमा उपमहानगरको विभिन्न स्थानमा ब्रेथलाइजर मेसिनबाट मापसे चेकिङ गरिने समेत बताए ।
