वायु सेवा संचालक संघले बुधबारदेखि नियमित उडान रोक्ने

तु खबर संवाददाता
२०७९ असार ७, मंगलवार १५:२७
file photo

काठमाडौं । वायु सेवा संचालक संघ नेपालले बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको छ । संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै उक्त माग सम्बोधन नभएसम्म उडान रोक्ने घोषणा गरेको हो ।

यस्तै, संघले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्न संघले माग गरेको छ । यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने माग गरेको छ ।

असार ५ मा नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गरेको अपरेटिङ बेसका प्रावधानहरु खारेज गरी पहिलेकै व्यवस्था अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विमानस्थलहरुबाट सम्पूर्ण विमान सेवा कम्पनीहरुले विना अवरोध सेवा यथावन संचालन गर्न पाउने पर्ने माघ संघको छ ।

नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षाको सूचीबाट हटाउनका लागि सरकारले यथाशीघ्र पहल हुनुपर्ने माग संघको छ । संघले त्रिभुवन विमानस्थल परिसरमा नियमानुसार त्रिभुवन विमानस्थलबाट स्वीकृत प्राप्त गरी विमान सेवा कम्पनीहरुले निर्माण गरी हवाई सेवाका लागि प्रयोग भइहेका स्थान तथा संरचनाहरुलाई यथावत राखी प्रयोगका लागि निरन्तरता प्रदान गर्न माग गरेको छ ।