पाँच दलीय गठबन्धन निरन्तर जाने कांग्रेस नेता बानियाँको दावी

तु खबर संवाददाता
२०७९ जेष्ठ २८, शनिबार १५:५१
file-photo

भक्तपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले पाँच दलीय गठबन्धन निरन्तर जाने दावी गरेका छन् । सभापति बानियाँले भक्तपुरको चुनदेवीमा आयोजित शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानको १० औं वार्षिक स्मृति सभा तथा छात्रवृत्ति एवम् प्रमाण वितरण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै सो कुराको दावी गरेका हुन् ।

बागमती प्रदेशका कांग्रेस संसदीय दलका नेता समेत रहेका बानियाँले संविधान, व्यवस्था र लोकतन्त्रका लागि गठबन्धन आवश्यक रहेको बताउँदै संघीयतालाई बलियो बनाएर जानुको विकल्प नभएको बताए । नेता बानियाँले बृहत् शान्ति सम्झौताको जगमा अहिले कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको बताए ।

संघीयताबाट राज्य संचालनको अनुभव र नेतृत्वको विकास हुने उनको भनाई छ । प्रदेशका मुख्यमन्त्रीले क्षमता प्रदर्शन गर्न सके भोलि मुलुकको नेतृत्व गर्न सफल र सक्षम हुने भन्दै बानियाँले संघीयताको विकल्प नभएको बताए ।