तारा एयर विमान दुर्घटना अपडेट : २१ जनाको शव फेला
काठमाडौं । मुस्ताङमा भएको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परेर मृत्यु भएका २१ जनाको शव फेला परेको छ । जिल्लाको थासाङ गाउँपालिका–२ सानोस्वाँरेबाट २१ जनाको शव संकलन गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
उक्त विमानमा ३ जना विमानचालकसहित २२ जना थिए । तीमध्ये २१ जनाको शव फेला परेको हो । अर्का एक जना भने अझै बेपत्ता छन् । उनको दुर्घटनास्थलमा सुरक्षाकर्मीहरुले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रामकुमार दानीले जानकारी दिए ।
उनका अनुसार, फेला परेका शव नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । पहिलो चरणमा १० वटा लिएर हेलिकप्टर काठमाडौंको लागि टेकअफ भएको छ ।
