मेयर लामाको पहिलो निर्णयः विपन्नलाई निशुल्क पानी, बिजुली र स्वास्थ्य बीमा

तु खबर संवाददाता
२०७९ जेष्ठ ९, सोमबार १५:३१
file-photo

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले सपथ ग्रहणलगत्तै पाँच बुँदे निर्णय गरेकी छिन् । मेयर लामाले हेटौंडा उपमहानगरभित्र बसोबास गर्ने अतिविपन्न परिवारमध्ये १ हजार ५४१ परिवारको स्वास्थ्य बीमा गरिदिने निर्णय गरेकी हुन् । उनले अतिविपन्न परिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत निःशुल्क उपलब्ध गराउने जानकारी दिइन् ।

पहिलो चरणमा अति विपन्नलाई र क्रमशः आम नगरबासीलाई निःशुल्क उपलब्ध गराउने उनले बताइन् । त्यस्तै आर्थिक अवस्थाका कारण शिक्षा हासिल गर्न बञ्चित भएका विद्यार्थीलाई अध्ययनमा सहजता प्रदान गर्न मेयर छात्रवृत्ति कार्यक्रम लागू गर्ने निर्णय समेत भएको छ ।
मेयर लामाले बाटो विस्तारको क्रममा बीच भागमै छाडिएको पोलहरु सडकको छेउमा स्थानान्तरण गर्ने र महिला जागरण समूहमार्फत् लैंगिक हिंसाविरुद्ध अभियान सञ्चालन गर्ने उल्लेख गरेकी छिन् ।

‘हिंसा पीडित र प्रभावित महिला तथा बालबालिकाका लागि आश्रय स्थल (सेफ हाउस) मार्फत् प्रभावकारीरुपमा पुर्नस्थापना कार्यक्रम सञ्चालन गरिनेछ ।’, निर्णयमा भनिएको छ । लामाले गठबन्धनको घोषणापत्र अनुसार काम गरिने र अन्य जनहितका प्रस्तावहरु आएमा त्यसलाई पनि योजना बनाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने जानकारी दिइन् ।

आजै उपमेयर राजेश बानियाँले पनि पदभार ग्रहण गरेका छन् । उनले हेटौंडालाई समृद्ध नगरको रुपमा विकास गर्न र नगरवासीको हितका विभिन्न योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आफुहरु अहोरात्र डटेर लाग्ने बताए ।