शासक होइन, सेवक भएर काम गर्छु – लामा

तु खबर संवाददाता
२०७९ जेष्ठ ६, शुक्रबार २०:५२

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले शुक्रबार पदभार ग्रहण गरेका छन् । पदभारसँगै लामाले गाउँपालिकाको समृद्धि र गाउँबासीको हित नै आफ्नो प्रमुख लक्ष्य रहेको बताए ।  पालिकाबासीसँग बोलेका र प्रतिवद्धता व्यक्त गरेका कुरालाई सार्थक र कार्यान्यवन गरिने उनले बताए । उनले आफु शासक नभई सेवक बनेर काम गर्ने उल्लेख गरे ।

चुनाव एउटा प्राविधिक विषय भएको र अब सबैको साझा व्यक्ति भई पक्षपात नगरी काम गर्ने उनको भनाई छ । उनले खरको छानो मुक्त बनाउन जस्तापाता, आर्थिक पक्ष कमजोर भएको व्यक्तिलाई सहयोग गर्ने निर्णय समेत आजै गरेका छन् ।

त्यस्तै, गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिनले आफुहरु नयाँ योजनाको साथ आएको भन्दै जनताको विश्वास र अपेक्षालाई ५ वर्ष भित्रमा पुरा गर्ने बताइन् ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका निवर्तमान अध्यक्ष विदुर हुमागाईंले नव निर्वाचित जनप्रतिनिधिलाई बधाई शुभकामना व्यक्त गरेका छन् । उनले पाँच बर्षे कार्यकालमा गाउँपालिकामा विकास र समृद्धिको आधार तयार गर्न सघाउने सम्पूर्ण पक्षलाई धन्यवाद दिए ।