प्रदेश ४ मा जनमोर्चालाई समानुपातिकमा एक सिट
मकवानपुर, ४ पुस । केही समयअघि सकिएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिक तर्फको मतगणना अनुसार राष्ट्रिय जनमोर्चा पार्टीले समानुापातिक तर्फ एक सिट पाउने देखिएको छ ।
प्रदेश नम्बर ४ मा जनमोर्चाले १९ हजार २ सय ७६ मत प्राप्त गरेको छ । प्रदेशसभातर्फ १.५ प्रतिशतको थ्रेसहोल्डको व्यवस्था छ । कुल सदर मतको १.५ प्रतिशत नकटाउने दलले समानुपातिकमा सिट पाउँदैनन् यस अर्थमा प्रदेश नम्बर ४ मा समानुपातिक तर्फ जनमोर्चाले एक सिट प्राप्त गर्ने भएको हो जसमा महिला नै सांसद बन्ने देखिएको छ ।
प्रदेश सभाको प्रत्यक्ष तर्फ भने जनमोर्चाले २ सिट जितेको छ । यसमा खसआर्यको तर्फबाट पर्वतकी सरस्वतीदेवी पौडेल,दलित महिलाको तर्फबाट लक्ष्मी विक र जनजाति महिलाको तर्फबाट पियारी थापामध्ये एक जनाले समानुपातिक सांसद बन्ने अवसर पाउने छन् ।
समानुपातिक सांसदका लागि ६ क्लस्टर छुट्याइएको छ र बन्द सूचीको पहिलो नम्बरमा हुने प्राथमिकतामा पर्ने व्यवस्था रहेको छ । प्रत्यक्षमा कुन पार्टीका कुन क्लस्टरले जितेका छन्, महिला कति छन् भन्ने कुराले पनि समानुपातिक सांसद छनोटमा प्रभाव पर्छ । यस अर्थमा एक नम्बरमा नाम हुने महिला उम्मेदवारले नै सांसद हुने अवशर प्राप्त गरेकी हुन् ।
