चितवनमाथि राइनोजको शानदार जित
काठमाडौँ, ३ पुस । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत मंगलबार बिहान भएको खेलमा पोखरा राइनोजले चितवनमाथि १० विकेटको शानदार जित हासिल गरेको छ ।
चितवनले दिएको ११४ रनको लक्ष्य पोखराले १७.४ ओभरमा विना विकेटको क्षतिमा भेट्टाएको हो । पहिले ब्याटिङ गरेको चितवनले राम्रो सुरुवात गर्न सकेन । ओपनर दिलिपनाथ ६ रनमै आउट भए, जतिबेला टिमको स्कोर ७ रन थियो । टिमले थप चार रन जोड्दा साबेज खान शुन्यमै आउट भए । अनिल मण्डलले दिपेन्द्र सिंंह ऐरीसँग मिलेर केही राम्रो खेल प्रदर्शन गरे ।
उनीहरुले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरे । मण्डल ३२ रनमा आउट भए । एरीले ४२ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंंक जोड्न सकेनन् र २० ओभरमा ९ विकेट गुमाएर ११३ रनमा चितवन अड्कियो ।
जवाफमा पोखराले शानदार प्रर्दशन गर्न सफल भयो । पोखराका तर्फबाट ओपनरद्वय इज्राउल्ला र सुनिल धमलाले १७.४ ओभरमा टिमलाई जित दिलाए । पाकिस्तानी क्रिकेटर इज्राउल्लाले नटआउट ६१ रन बनाउँदा धमला ४६ रनमा अविजित रहे ।
