हेटौंडामा ‘नो भोट’ लेखिएको मतपत्र भेटियो
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । मतगणनाको क्रममा मत बदर भएको अवस्थामा बाहेक समग्रमा उत्साहजनक रुपमा नै मतदाताहरुले आफ्नो मताधिकार प्रयोग गरेको पाइएको छ । तर, बुधबार हेटौंडामा यस्तो मतपत्र पनि फेला पर्यो, जसले वर्तमान नेतृत्व र राजनीतिक दलहरुप्रति जनताको बढ्दो निराशा र आक्रोशलाई चित्रण गरिदिएको छ ।
लोकतन्त्रको सबैभन्दा सुन्दर र सुखद पक्ष भनेकै आवधिक निर्वाचन र जनादेशको नवीकरण हो । लोकतान्त्रिक शासन व्यवस्थामा जनता स्वयंबाट आफूमाथि शासन गर्ने शासकरूपी जनप्रतिनिधि चयन गर्ने पद्धत्ति नै निर्वाचन हो । स्थानीय निर्वाचनबाट आफ्नो मनोभावना बुझ्ने, सक्षम र सबल नेतृत्व चयन गर्ने सुनौलो अवसर मतदाताले पाएका हुन्छन् । तर, यस्तो मौकामा पनि मतदाताले मतपत्रमा ‘नो भोट’ लेख्नु उनीहरुले कुनैपनि उम्मेदवारलाई मतदान गर्न नचाहानु नै हो ।
यो घटनाले निर्वाचनपूर्व उम्मेदवारहरुले करोडौँ खर्च गरेर भड्किलो शैली अवलम्वन गर्नु र निर्वाचित भएपछि सोही रकम अशुल्न आर्थिक अनुशासनबाट विचलित हुनेलगायत प्रवृत्ति वा उम्मेदवारका अन्य यस्तै गतविधिप्रति जनता असन्तुष्ट छन् भन्ने बुझ्न सकिन्छ ।
हेटौंडा–४ मा मंगलबार र बुधबार गरी दुइ वटा मतपत्र फेला पर्यो । ती दुवै मतपत्रमा क्रश चिन्ह लगाएर ‘नो भोट’ लेखिएको पाइयो । एउटामा मतदाताले राजनीतिक दल र नेताहरु सबै गलत छन्, त्यसैले ‘नो भोट’ भन्ने आशय दर्शाउने गरी लेखेका पनि छन् । पछिल्लो समयमा ‘नो भोट’ को माग बढिरहेको अवस्थामा मतपत्रमा नै ‘नो भोट’ भेटिएको हो । जसले मतगणनास्थलमा एकैछिन सबैको ध्यान केन्द्रित गर्यो ।

