हेटौंडा उपमहानगरपालिकामै मेयरमा १२.०५ र उपमेयरमा १८.३ प्रतिशत मत बदर
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ को मतगणना जारी छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १,२,१८ र १९ नम्वर वडाको मतगणनाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने वडा नम्वर ३,४,५,६,१५,१६ र १७ को मतगणना जारी छ ।
हालसम्म २१ हजार ६३६ मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये मेयर पदमा विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिएका र स्वतन्त्र उम्मेदवारहरुले कूल १९ हजार २८ मत प्राप्त गरेका छन् । मेयर पदमा २ हजार ६०८ मत बदर भएको उल्लेख छ । जुन कूल गणना भएको मत संख्याको १२.०५ प्रतिशत हुन आउँछ ।
त्यस्तै उपमेयर पदमा विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुले कूल १७ हजार ६३६ मत प्राप्त गरेका छन् । सो पदमा ३ हजार ९६३ मत बदर भएको छ । जुन कूल गणना भएको मत संख्याको १८.३ प्रतिशत हुन आउँछ ।
मतदाताहरुमा मतदान प्रक्रियाबारे पूर्ण रुपमा जानकारी नहुँदा मत बदरको संभावना धेरै हुने गरेको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठ बताउँछन् । आँखा कमजोर भएका, उम्मेदवारको चुनाव चिन्हबारे राम्रो ज्ञान नभएका वा मतदान प्रक्रियाबारे जानकारी नभएकाहरुबाट मत बदर हुने गरेको जानकारहरु बताउँछन् ।
