मकवानपुरको १९ वडामा मतगणना सकियोः कुन वडामा कसको नेतृत्व ?

तु खबर संवाददाता
२०७९ जेष्ठ १, आईतवार १०:३५

मकवानपुर । स्थानीय तहको निर्वाचन अन्तरगत मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकाको मतगणना कार्य जारी रहेको छ । हेटौंडा उपमहानगरपालिकाको १,२,१८ र १९ नम्वर वडाको मतगणना अन्तिम चरणमा पुगेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार हालसम्म मकवानपुरको १९ वडाको मतगणना पूर्ण रुपमा सम्पन्न भइसकेको छ । जसमा ८ वटामा नेपाली कांग्रेस विजयी भएको छ भने ७ वटामा माओवादी केन्द्रले जित हात पारेको छ । त्यस्तै ४ वटा वडामा नेकपा एमालेले नेतृत्व लिएको छ ।

कांग्रेसबाट भीमफेदी गाउँपालिका वडा नम्वर १ मा सोमबहादुर स्याङ्तान, कैलाश गाउँपालिका वडा नम्वर १ मा तेज बहादुर ब्लोन, कैलाश गाउँपालिका वडा नम्वर २ मा राजेन्द्र तामाङ घिसिङ, मनहरी गाउँपालिका वडा नम्वर १ मा शिव प्रसाद खनाल, मकवानपुरगढी गाउँपालिका वडा नम्वर १ मा आइत सिंह लो, मकवानपुरगढी ८ मा कुमार घिसिङ, इन्द्रसरोबर गाउँपालिका १ र २ मा क्रमश सुवास थापा र सुमन श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्रको तर्फबाट भीमफेदी–३ मा पृति लाल लामा, थाहा नगरपालिका–१ मा हेरमान गोपाली, थाहा–२ बमबहादुर सिंतान, बकैया–१ आशिश तितुङ, बकैया–२ विश्वराज स्याङतान, मनहरी–२ राजकुमार पाख्रीन र बागमती–१ यहुन्ना राई निर्वाचित भएका हुन् ।

नेकपा एमालेको तर्फबाट भने भीमफेदी–२ मा काशीराम बज्यु, भीमफेदी–४ मा सागर पाण्डे, कैलाश–१० मा सूर्य बहादुर ब्लोन र राक्सिराङ–१ मा बाबीराम मुक्तान निर्वाचित भएका हुन् । मकवानपुरमा जम्मा १०२ वटा वडा रहेका छन् । मतगणना जारी रहेको छ ।