मकवानपुरमा मतदान सम्पन्न: ६५ प्रतिशतभन्दा बढी मत खस्यो
मकवानपुर । मकवानपुरको सबै स्थानीय तहका कूल मतदातामध्ये ६५ प्रतिशत भन्दा बढी मतदाता मतदान प्रक्रियामा सहभागी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । निर्वाचन आयोगले तोकेको अवधिमा ६५ प्रतिशत भन्दा बढी मतदाताले मतदान गरेका हुन् ।
मुख्य निर्वाचन अधिृकत डिल्लिरत्न श्रेष्ठले यकिन तथ्यांक भने आउन बाँकी रहेको बताउँदै जिल्लामा शान्तिपूर्वक निर्वाचन सम्पन्न भएको बताए । उनले जिल्लाको १० वटै स्थानीय तहहरुमा मतपेटीका संकलनको कार्य भइरहको र केहि स्थानीय तहको मतगणना आजै रातिबाट हुने जानकारी दिए ।
मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ जना मतदाताहरु रहेका छन् । जसमध्ये १ लाख ४ ९ जना पुरुष , १ लाख ४४ हजार ९ सय ५९ जना महिला तथा ६ जना तेस्रो लिङ्गी रहेको निर्वाचन आयोग बागमती प्रदेश कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ ।
मकवानपुरको सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगरपालिकाको रहेको जनाइएको छ । हेटौंडामा मात्र १ लाख ४ हजार ४ सय ५० जना मतदाता रहेका छन् । यस्तै, थाहा नगरपालिकामा ३२ हजार ३ सय ७ जना मतदाता रहेका छन् । बकैया गाउँपालिकामा २९ हजार ९ सय ४३ जना, बागमती गाउँपालिकामा २२ हजार ४० जना मतदाता रहेका छन् ।
यस्तै भीमफेदी गाउँपालिकामा १७ हजार ४ सय २८ जना, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय १८ जना, मनहरी गाउँपालिकामा २७ हजार ७ सय २१ मतदाता रहेका छन् । राक्सिराङ गाउँपालिकामा १५ हजार ८ सय ३२ जना, ईन्द्रसरोवर गाउँपालिकामा १२ हजार ४ सय ७१ जना र कैलाश गाउँपालिकामा १४ हजार ५ सय ४७ मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
