मकवानपुरमा निर्वाचनको तयारी अन्तिम चरणमा

तु खबर संवाददाता
२०७९ बैशाख २९, बिहीबार १५:५५

मकवानपुर । जिल्लामा स्थानीय तह निर्वाचन २०७९ को लागि आवश्यक तयारीको कार्य अन्तिम चरणमा पुगेको छ ।  जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचनको लागि आवश्यक सामग्री, मतदान अधिकृतसहितका कर्मचारीहरु, सुरक्षाकर्मी र अन्य आवश्यक जनशक्ति पुगिसकेका छन् भने मतदान स्थलको व्यवस्थापन, मतदाता परिचयपत्र वितरणलगायत कार्यलाई तीव्र पारिएको निर्वाचन आयोगको कार्यालय बागमती प्रदेश हेटौंडाले जनाएको छ ।

निर्वाचनलाई व्यवस्थित तरिकाले सम्पन्न गर्न आयोगले जिल्लाको १ सय ६५ मतदान स्थलमा २ हजार ८ सय ३८ जना कर्मचारी खटाएको छ । जसमा १ हजार ७७० जनालाई आयोगले खटाएको हो भने १ हजार ६८ जना स्वयम् सेवकको रुपमा खटाइएको छ ।

निर्वाचन सुरक्षाका लागि सरकारले जिल्लाभरमा १ हजार ४ सय ७३ जना म्यादी प्रहरी, नेपाली सेना ५ सय जना, सशस्त्र प्रहरी ४ सय जना, नेपाल प्रहरी ९ सय जना खटाएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । मतदान केन्द्र भित्र सुरक्षा प्रदान गर्न प्रहरी खटिने र मतदान केन्द्र बाहिर सेना खटाइने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

मतदातालाई आज साँझ सम्ममा सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र उपलब्ध गराइने उनले बताए । मतदाता नामावलीमा नाम भएकाहरुले नागरिकता वा परिचय खुल्ने नेपाल सरकारले जारी गरेको अन्य परिचयपत्र ल्याएको अवस्थामा पनि मत दिन पाउने प्रबन्ध मिलाइएको उनले बताए ।

मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ जना मतदाताहरु रहेका छन् । जसमध्ये १ लाख ४ ९ जना पुरुष , १ लाख ४४ हजार ९ सय ५९ जना महिला तथा ६ जना तेस्रो लिङ्गी रहेको निर्वाचन आयोग बागमती प्रदेश कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ ।

प्रशासनले मतदान प्रक्रियामा सहभागी हुने मतदातालाई कसैको दवाव वा प्रभावमा नपरी आफुलाई मन परेको उम्मेदवारलाई मत दिन अपिल गर्दै कुनै समस्या भएमा निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय वा प्रहरीलाई सम्पर्क गर्न उनले आग्रह गरे ।

हात नचल्ने बृद्धबृद्धा तथा अपाङ्गता भएका मानिसहरु र आखाँको समस्या भएकाले एकाघरको सदस्यको सहयोग लिन सक्ने जनाइएको छ । यदि विश्वास नलाग्ने सदस्यहरु भएमा निर्वाचन अधिकृतलाई सम्पर्क गरेर आफूलाई मन लागेको उम्मेदवारलाई मतदान गर्न सकिने कानूनी व्यवस्था रहेको उनले बताए ।

मकवानपुरको सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगरपालिकाको रहेको जनाइएको छ । हेटौंडामा मात्र १ लाख ४ हजार ४ सय ५० जना मतदाता रहेका छन् । यस्तै, थाहा नगरपालिकामा ३२ हजार ३ सय ७ जना मतदाता रहेका छन् । बकैया गाउँपालिकामा २९ हजार ९ सय ४३ जना, बागमती गाउँपालिकामा २२ हजार ४० जना मतदाता रहेका छन् ।

यस्तै भीमफेदी गाउँपालिकामा १७ हजार ४ सय २८ जना, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय १८ जना, मनहरी गाउँपालिकामा २७ हजार ७ सय २१ मतदाता रहेका छन् । राक्सिराङ गाउँपालिकामा १५ हजार ८ सय ३२ जना, ईन्द्रसरोवर गाउँपालिकामा १२ हजार ४ सय ७१ जना र कैलाश गाउँपालिकामा १४ हजार ५ सय ४७ मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जानकारी दिएको छ ।