मकवानपुरगढी: रातारात एमाले उम्मेदवारले बाँड्न लागेको टनेलको प्लास्टिक बरामद, बिथोलियो भतेर
मकवानपुर । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरुबाटै आचारसंहिता उल्लंघनका घटना दिनप्रदिन बढिरहेको छ । विभिन्न पदका उम्मेदवारदेखि कर्मचारी, शिक्षक, सांसद् र बहालवाला मन्त्रीसम्म निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा संलग्न रहेको पाइएको छ ।
कर्मचारी र शिक्षकहरु दलको झण्डा बोकेर चुनावी प्रचारमा हिड्ने, सांसद् र बहालवाला मन्त्रीहरु चुनावी सभालाई सम्बोधन गर्ने मात्रै नभई मतदातालाई प्रभाव पार्ने उद्देश्यले रातारात आचारसंहिता विपरितका गतिविधिमा उम्मेदवारहरु सक्रिय भएपछि जनस्तरबाट गुनासो सुनिन थालेको छ । निर्वाचन आयोगमार्फत् चैत २५ गते नै आचारसंहिता लागू भइसकेको छ । यो अवधिमा मतदातालाई डर वा प्रलोभनमा पार्ने कुनै पनि गतिविधि गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।

मध्येराती वडाको बजेटबाट टनेल वितरण
घटना बिहीबार राति ९ बजेको हो । मकवानपुरगढी गाउँपालिका वडा नम्वर– ६ ठुलोसल्लेमा नेकपा एमालेबाट मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बिदुर हुमागाईँ र ६ नम्वर वडाध्यक्ष पदका उम्मेदवार टिकाप्रसाद दाहालको निर्देशनमा वडा सदस्य पदकी उम्मेदवार भीममाया तितुङ्ले स्थानीयलाई बाँड्ने प्रयोजनको लागि लैजाँदै गरेको टनेलको प्यास्टिक स्थानीयले नियन्त्रण लिए ।
ना २ च ७४५५ नम्वरको गाडीमा नेकपा एमालेको झण्डा फहराउँदै वडा सदस्यकी उम्मेदवार भीममाया तितुङ्को नेतृत्वमा वडावासीलाई प्रलोभनमा पार्नको लागि एमालेले टनेलको प्लास्टिक र भतेर गर्नको लागि केही खाद्यान्न सामग्री ल्याएको थियो । रातारात प्लास्टिक वितरण गर्ने र शुक्रबार बिहान गाउँमा भतेर गरेर मतदातालाई प्रभाव पार्न सकिन्छ भन्ने एमाले उम्मेदवार टिकाप्रसाद दाहालको योजना जब विफल भयो, तब स्थानीयले पहरीलाई खबर गरेर प्रहरीले सो सामग्री नियन्त्रणमा लियो ।
गाडीमा सवार वडा सदस्यकी उम्मेदवार तितुङ्ले स्थानीयलाई घटनास्थलमा सामग्री वितरणको उद्देश्य पवित्र भएको र पालिका अध्यक्षका उम्मेदवार बिदुर हुमागाईँ र वडाध्यक्षका उम्मेदवार टिकाप्रसाद दाहालकै सल्लाह बमोजिम कृषकलाई अनुदान कार्यक्रम अन्तरगत सामग्री वितरण गर्न लागिएको प्रतिक्रिया दिइन् ।
यस विषयमा तु खबरले वडाध्यक्ष पदका उम्मेदवार दाहाललाई जिज्ञासा राख्दा उनले वडाको ५ लाख बजेटबाट ‘एक घर, एक टनेल ’ वितरण कार्यक्रम अन्तरगत आफुहरुले गाउँका ६६ कृषकलाई प्लास्टिक वितरण गर्न लागिएको बताए । सो कार्यको जिम्मा आइपीएम कृषक सहकारीले लिएको र उनीहरुले राति बाँड्नु चाँही गलत भएको उनले बताए । दाहाल आफैँ आइपीएम कृषक सहकारीको अध्यक्ष हुन् । आफैँ अध्यक्ष भएको सहकारीले आफुलाई जानकारी नदिई सो काम गरेको भन्दै उनी पन्छिए । २०७४ मा उनी वडाध्यक्ष निर्वाचित भएका थिए । पुनः वडाअध्यक्षको उम्मेदवार भएपछि पदबाट राजीनामा दिएका हुन् ।
यस्तै, वडा सचिव सागर लामाले भने निर्वाचन आचारसंहिता विपरितको कार्य भएको र आफुलाई जानकारी नभएको बताए । ‘मध्येराती त्यसरी वितरण गरिनु गलत हो, मलाई थाहा दिएनन् थाहा पाएको भए हुँदैन है भन्थेँ ।’ उनले भने ।
यस्तै, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टेक बहादुर कार्कीले आफुहरुले टनेलको प्लास्टिक र खाद्यान्न सामग्री वरामद गरेको पुष्टि गरे । घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

विथोलियो भतेर
वडा सदस्य पदकी उम्मेदवार तितुङले गाडीमा शुक्रबार भतेरका लागि खाद्यान्न सामग्री ल्याएकी थिइन् । वडामा सत्तारुढ गठबन्धनको साझा उम्मेदवारसँग पराजित हुने अवस्था देखेपछि नेकपा एमालेले भतेर आयोजना गरी मतदातालाई प्रभावित पार्ने योजनासहित खाद्यान्न सामग्री ल्याएको थियो । तर, प्रहरीले खाद्यान्न सामग्रीसमेत बरामद गरेपछि भतेर कार्यक्रम विथोलिएको हो । उम्मेदवार दाहालले भने आफुले सो खाद्यान्न चुनावी कार्यक्रमको लागि ल्याएको जवाफ दिएका छन् ।

