माओवादी केन्द्र थाहा नगरको प्रतिबद्धता पत्र सार्वजनिक
मकवानपुर । नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीले स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा नगरको विकासका लागि गर्ने कार्यसहितको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । ‘शिक्षा, कृषि, पर्यटन र रोजगार: समृद्ध थाहा नगरको आधार’ भन्ने नारालाई सार्थक गर्न गरिने विविध कार्यक्रमहरु प्रतिवद्धता पत्रमा समावेश छ ।
माओवादी केन्द्रले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा नगरको मूख्य सम्भावना रहेको क्षेत्र कृषि र पर्यटनलाई सम्मनजनक पेशाको रुपमा विकास गराई प्रविधिमा जोडेर युवालाई आकर्षित गर्ने उल्लेख छ । प्रतिबद्धता पत्रमा थाहा नगरलाई देशकै नमूना शैक्षिक केन्द्रको रुपमा विकास गर्ने र स्वास्थ्य सम्वन्धी जनशक्ति उत्पादनको लागि नगरमा नै मेडिकल कलेजको स्थापना गर्न पहल गर्ने, महिला स्वास्थ्यकर्मीहरुलाई सम्मनजनक सुविधाको व्यवस्था गर्नुका साथै प्रत्येक वडामा सुविधा सहितको बर्थिङ सेन्टरको स्थापना गर्ने र नगरका सम्पूर्ण परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गराउन पहल गर्नेसमेत उल्लेख छ ।
साथै थाहा नगरलाई गरिबी शुन्य नगर बनाउनको लागि गरिब परिवार पहिचान गरी गरिब, दलित तथा पछाडी पारिएकाहरुलाई आयआर्जन मूलक कार्यमा प्राथमिकताका साथ लगाइने र दक्ष जनशक्ति तयार गर्न सीपमुलक तालिमहरुको व्यवस्था गर्ने उल्लेख गरिएको छ । कृषि क्षेत्रको विकासको लागि सिंचाईको उपयुक्त व्यवस्थासहित कृषिजन्य उत्पादनको प्रशोधन र प्रवर्धनका लागि लघुउद्यम सञ्चालन गर्ने र खेती योग्य जमिनको संरक्षण गरी कम उत्पादन हुने क्षेत्रमा बस्तीको विकास गर्ने नीति माओवादी केन्द्र थाहा नगरको प्रतिवद्धता पत्रमा उल्लेख छ । प्रतिबद्धता पत्रमा एक घर एक धाराको नीति अन्तरगत बाँकी रहेका वडाहरुमा तीन बर्ष भित्र स्वच्छ खानेपानीको ब्यवस्था गर्ने, ५० बर्ष माथिका सबै नागरिकहरुको पूर्ण स्वास्थ्य जाँच गरी तथ्यांक राख्ने र जेष्ठ नागरिकहरुलाई अनुकुल हुनेगरी टोलटोलमा जेष्ठ नागरिक मिलन केन्द्रको स्थापना गरिने उल्लेख छ ।
त्यस्तै शान्ति सुरक्षा नागरिकको प्रमुख अधिकार भएकोले मूख्य वजार क्षेत्रमा सिसि क्यामेरा राखिने, नगरमा रहेका धार्मिक, पुरातात्विक, ऐतिहाँसिक संरचनाहरुको संरक्षण गरी प्रचारप्रसार गरी पर्यटन क्षेत्रको विकास गरिने योजना प्रतिबद्धता पत्रमा रहेको छ । प्रतिबद्धता पत्रमा अघिल्लो निर्वाचनमा गरिएका प्रतिबद्धताहरु अधिकांश पुरा भएको र केही पुरा हुने अन्तिम चरणमा रहेकोले समग्र थाहा नगरको विकास र समृद्धिको लागि नेकपा माओवादी केन्द्रका उम्मेद्वारहरुलाई बिजयी गराउन अनुरोध गरिएको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका उम्मेद्वार लवशेर बिष्ट मेयर पदमा निर्वाचित भएसंगै नगरको विकासमा उल्लेख्य कार्य भएको र राष्ट्रिय स्तरमा उत्कृष्ठ नगर भएकोले आगामी निर्वाचनमा समेत माओवादी केन्द्रका उम्मेद्वारलाई विजयी गराउन नगरकमिटी अध्यक्ष बिनोद कुमार लामाले अपिल गरे ।
