हेटौंडा १८ मा एमालेका उम्मेदवार बानियाँले बाँड्न लागेको जस्तापाता नियन्त्रणमा

तु खबर संवाददाता
२०७९ बैशाख २१, बुधबार १२:१५

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ मा नेकपा एमालेबाट उम्मेदवार बनेका वडाअध्यक्षले निर्वाचन आचारसंहिता विपरितको गतिविधि गरेको पाइएको छ । उम्मेदवार अनिल बानियाँले निर्वाचनको आचारसंहिता उल्लङ्घन गर्दै वडाको लालभित्ते भन्ने स्थानमा करिब १५ घरधुरीलाई बाड्न लैजाँदै गरेको करिब २०० थान जस्तापाता प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडाध्यक्षका उम्मेदवार बानियाँले चुनाव प्रभाव पार्न हेटौंडा उपमहानगरपालिकाको रकमबाट खरिद गरि आचार संहिता विपरीत उक्त जस्तापाता बाड्न लागेको स्थानीयले आरोप लगाएका छन् । बानियाँले हेटौंडा १८ लालभित्तेमा बाड्न लाँदै गरेको जस्तापाता रामधुनीमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउने तयारी भइरहेको बुझिएको छ ।

बानियाँ यस अघि एमालेबाट उम्मेदवार रही सोही वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए भने स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत सोही वडाको एमालेबाट पुनः वडाध्यक्षमा मनोनयन दर्ता गरेका उम्मेदवार हुन् । चैत २५ गतेबाट निर्वाचन आचारसंहिता लागु भइसकेको छ।आचारसंहिता अनुसार कुनै पनि उम्मेदवार वा कुनै राजनैतिक दलले सहयोग, राहत वितरण गर्न मिल्दैन।