हेटौंडा ८ की वडा सचिव एमालेको चुनाव प्रचार प्रसारमा
मकवानपुर । मकवानपुरमा आचारसंहिता उल्लंघनका घटना बढिरहेका छन् । निर्वाचन आयोगले आचारसंहिता पूर्ण कार्यान्वयन गर्ने दावी गरिरहेको भएपनि मकवानपुरमा सरकारी कर्मचारी नै विभिन्न राजनीतिक दलको चुनावी अभियानमा हिडेको पाइएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ की वडा सचिव भगवती रिमाल खुलेआम एमालेको प्रचारप्रसारमा हिडेकी छिन् । उनी हेटौंडा–८ को एक कार्यक्रममा एमालेका उम्मेदवारसँग देखिएकी छिन् ।
आचारंसहिताले सरकारी कर्मचारीलाई दलका चुनावी गतिविधिमा सहभागी हुन रोक लगाएको छ । उनी भने मन्द मुस्कानका साथ अभियानमा रहँदा पनि निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय मौन देखिएको गुनासो छ । ‘यस्ता कर्मचारी भोलि मतदान र गणनामा खटिंदा निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्ने सर्वसाधारणको भनाई छ ।
निर्वाचन आयोग मकवानपुरले हिजो जिल्ला प्रशासन कार्यालयमा छलफलको आयोजना गर्दै चुनावी आचार संहिताको अवगत गराएको थियो ।
पछिल्लो समय सरकारी कर्मचारी, शिक्षक, अर्ध सरकारी कार्यालयका कर्मचारी र स्थानीय तहका कर्मचारी पनि चुनावी अभियानमा हिडिरहेका छन् । उनीहरूलाई नियमन गर्न भने सम्बन्धित निकायले सकेको छैन। यस अघि हेटौंडाका सरकारी कार्यालयका लेखापाल नकुल गौतम नेकपा एमालेका उम्मेदवार र नेतासंग चुनावी अभियानमा देखिएका छन् भने हेटौंडाका मेयर हरिबहादुर महत आचारसंहिता विपरीत एमालेको प्रचारप्रसारमा पुगेका थिए ।
