मनहरीमा एमालेको घरदैलो अभियान तीव्र
मकवानपुर । नेकपा एमालेबाट मनहरी गाउँपालिकाको विभिन्न पदहरुमा उम्मेदवारी दिएकाहरु यहाँका टोलटोलमा पुगी जनतासँग साक्षात्कार गरिरहेका छन् । नेकपा एमालेबाट मनहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरु गाउँपालिकाको विभिन्न क्षेत्रमा चुनावी प्रचारप्रसार एवम् घरदैलो कार्यक्रममा दिनहुँ व्यस्त भएका छन् ।
मनहरीका विभिन्न वडामा घरदैलो गर्ने, किसानका खेतबारीमै पुग्ने उनीहरुका समस्या र गुनासा सुन्ने र आफ्ना घोषणापत्रका बारेमा जानकारी गराउने लगायतका काममा लागिपरेको मनहरीबाट अध्यक्ष पदका उम्मेदवार एकराज उप्रेतीले बताए ।
अहिले पहिलो प्राथमिकतामा घरदैलो कार्यक्रम र टोलसभाहरु गरिदै आएको छ । मनहरी गाउँपालिका वडा नं ६ लोथर बजारमा घरदैलो गरेका उम्मेदवारहरु आज ६ नम्वरकै बाँकी ठाउँमा पुगेका हुन् । मनहरी गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार एकराज उप्रेती र उपाध्यक्षको उम्मेदवार सुजिता थिङ, पार्टी गाउँपालिका कमिटीका अध्यक्ष नवीन सुवेदी, वडाका उम्मेदवारहरुसहितको टोलीले मनहरी–६ को विभिन्न क्षेत्रमा जनतासँग भेटघाट गरेका हुन् ।
मनहरी–६ को घुल्चोक, खयरघारी, जोगिताल, चौकीटोल, बगर टोल क्षेत्रका सबै जनताको घरमा पुगी उम्मेदवारहरुले मत अपिल गरेका थिए । सबै उम्मेदवारसहितको टोलीले घरदैलो कार्यक्रम गरेको थियो । कार्यक्रममा स्थानीयले उम्मेदवारलाई बधाई र शुभकामना दिएका थिए । अध्यक्षका उम्मेदवार एकराज उप्रेती जनताको आवश्यकता र भावना अनुरुप नै आफुले काम गर्ने बताए । घरदैलो अभियानमा जनताको सुझाव समेत संकलन गरिएको उनले जानकारी दिए ।

