निर्वाचन आचारसंहिता विपरित मेयर महत एमालेको प्रचारमा

तु खबर संवाददाता
२०७९ बैशाख १६, शुक्रबार १३:३०
तस्वीरः मेयर महत नेकपा एमालेको चुनावी प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्दै

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत निर्वाचन आचारसंहिता विपरित चुनावी प्रचारप्रसारमा लागेका छन् । उनी नेकपा एमालेको प्रचारप्रसार अभियानमा सहभागी भएपछि अहिले चौतर्फी आलोचना सुरु भएको छ ।

निर्वाचन आचारसंहिताले स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै पनि राजनैतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाईने व्यवस्था गरेको छ । ‘बहालवाला मेयर नै आचारसंहिता विपरित पार्टीको चुनावी अभियानमा भाषण गरेर हिडिरहेका छन, यसलाई सम्बन्धित निकायले रोक्नुपर्छ ।’–हेटौंडा–५ का एक स्थानीयले भने । महत पछिल्लो केही दिनदेखि नियमित रुपमा चुनावी अभियानमा गएर जनतालाई आश्वासन समेत बाँडिरहेका छन् ।

जनताको साझा प्रतिनिधि भएर पार्टीको अभियानमा हिड्नु नैतिकता र निर्वाचन आचारसंहिता विपरित हुने जानकारहरु बताउँछन् । महत एमालेबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदको आकाँक्षी भएपनि अन्तिम समयमा रेसबाट बाहिरिएका थिए र मेयरको टिकट अनन्त पौडेलले पाएका थिए ।