हेटौंडा ४ मा गठबन्धनको घरदैलो अभियान सुरु

तु खबर संवाददाता
२०७९ बैशाख १५, बिहीबार १४:०३

मकवानपुर । सत्तारुढ पाँच दलीय गठबन्धनले हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ मा चुनावी प्रचारप्रसारका लागि संयुक्त रुपमा घरदैलो अभियान सुरु गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनको तर्फबाट वडा अध्यक्ष, तथा सदस्य पदका उम्मेदवारहरु आजबाट घरदैलो अभियानमा जुटेका हुन् ।

हेटौंडाको कर्रास्थित इन्द्र कम्प्लेक्सबाट अभियान सुरु गरी आज पृथ्वीपथ, श्रमिक मावि परिसर, तेन्जिङपथ, युद्धपथलगायतका ठाउँमा पुगेर मतदाताहरुसँग साक्षात्कार गरिएको वडा अध्यक्ष पदका उम्मेदवार हरिप्रसाद पौडेलले जानकारी दिए ।

‘हामी जनताको घरदैलोमा नै पुगेर जनतासँग साक्षात्कार गरिरहेका छौँ । अघिल्लो चुनावमा पनि उम्मेदवार भएको थिएँ । थोरै मतले पराजित हुनुपरेकाले वडा अध्यक्ष भएर सेवा गर्ने अवसरबाट बञ्चित हुनुपर्यो । यसपटक सबैको साथ सहयोग रहेको छ । जनताको सुझावहरु ग्रहण गरिरहेका छौँ । जनताको सुझाव संकलन गरी वडालाई समृद्ध बनाउन र जनहितका काम गर्न आवश्यक योजना तय गर्नेछु ।’ उनले भने ।

गठबन्धनको भावना अनुसार विवादरहित उम्मेदवार तय गरी वडावासीको हितको योजना बनाउन घरदैलो अभियान सुरु गरिएको पौडेलले बताए । अभियानमा कांग्रेस नेता प्रदिप कोइराला, पृथ्बी टोल र श्रमिक टोल इकाइ समितिका संयोजक क्रमश बालकृष्ण खतिवडा र सीता न्यौपानेलगायतले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । अभियानमा नेताहरु विष्णु विडारी, विजय कार्की, हेबु न्यौपाने, कल्पना शर्मालगायत गठबन्धनका सबै दलका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।