मकवानपुर गठबन्धनको भागबण्डा मिलाउन बानियाँको नेतृत्वमा काठमाडौंमा बैठक
मकवानपुर । मकवानपुरमा पाँच दलीय गठबन्धनबीच भागबण्डा मिलाउन सकस भएपछि नेताहरु छलफलको लागि आज विहानै काठमाडौँ पुगेका छन् । बिहीबार राति अबेरसम्म हेटौंडामा बसेको जिल्लास्तरीय गठबन्धन बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच भागबण्डाका बारेमा सहमति हुन नसकेपछि कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा अहिले छलफल भइरहेको छ ।
बैठकमा सहभागी हुन माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज कुमारी मोक्तान, एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् मकवानपुर इञ्चार्ज केदार न्यौपाने, जिल्ला अध्यक्ष श्रीधर पोखरेल, काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा, सचिव भीमसेन महतलगायतका नेताहरु काठमाडौं पुगेका हुन् ।
दलहरुले मकवानपुरको हेटौंडा उपमहानगरपालिका बाहेकका पालिकाको नेतृत्वमा आ–आफ्नै दाबी कायम राख्दा भागबण्डामा समस्या परेको बुझिएको छ । बैठकमा मकवानपुरमा भागबण्डा गरेर जाने र त्यसका लागि केन्द्रले दिएको निर्देशन अनुसारको आधार र मापदण्ड अनुकुल गर्ने तयारी थियो । तर, गठबन्धनका दलहरु बीच मकवानपुरको केही गाउँपालिकाको नेतृत्वमा सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको थियो ।
गठबन्धनका दलहरु बीच मकवानपुरको बागमती, बकैया र मकवानपुरगढी गाउँपालिकाको विषयमा लगभग सहमति भइसकेको छ । तर, कैलाश, राक्सिराङ र मनहरी गाउँपालिकाको विषयमा भने गठबन्धन घटकबीच सहमति जुट्न सकेको छैन ।
बागमती, बकैया र मकवानपुरगढी गाउँपालिकामा सहमति अन्तिम चरणमा पुगेको र कैलाश, राक्सिराङ र मनहरी गाउँपालिकाको नेतृत्वको विषयमा भने समस्या भएको थियो । बैठकमा काँग्रेसले सहमतिका लागि लचकता अपनाए पनि माओवादी केन्द्रले आफ्नो दावी नछाडेपछि बैठक निष्कर्षमा नपुगी टुंगिएको हो ।
गठबन्धनको बैठकमा काँग्रेसले विगतमा जितेको २ वटा गाउँपालिकासहित ६ पालिकाको नेतृत्वमा दाबी गरेको छ भने माओवादी केन्द्रले पनि विगतमा जितेको २ पालिकासहित ५ पालिकाको दावी गरेको छ ।
काँग्रेसले विगतमा जितेको राक्सिराङ, बकैया, कैलाश, मकवानपुरगढी, भीमफेदी र मनहरी गाउँपालिकाको नेतृत्वमा दावी गरेको छ भने माओवादी केन्द्रले विगतमा जितेको थाहा नगरपालिका, बागमती, भीमफेदी, राक्सिराङ र मनहरी गाउँपालिकामा दावी गरेको छ ।
