हतियारसहित आक्रमण प्रयास गरेको राजाराम स्याङ्तानको आरोप
हेटौँडा, २६ मंसिर । मकवानपुर क्षेत्र नं २ को प्रदेशसभा ख का उम्मेदवार एवं निवर्तमान सांसद राजाराम स्याङ्तानले सोमबार पत्रकार सम्मेलनमार्फत आफूमाथि हात हतियारसहित आक्रमण प्रयास गरेको आरोप लगाएका छन् ।
विज्ञप्तिमा उनले अनर्गल प्रचारहरु गरी चरित्र हत्या गरेको आरोप लगाए । मतका लागि कम्बल, चामल र रकम बितरण जस्ता समाचारहरु लेखेर हुँदै नभएको बिषयलाई अतिरन्जित पारिएको उनको भनाई थियो । ‘त्यस्ता कुराहरुमा एकप्रतिशत पनि सत्यता छैन ।’, उनले बिज्ञप्तीमा उल्लेख गरेका छन् ।
आफ्नो पराजयबाट बिचलित नहुनका लागि कार्यकर्ता र समर्थकहरुलाई आग्रह समेत उनले गरेका छन् । उनले देशभर बामगठबन्धनले जितिरहँदा आफ्नो हार वा जीतले खास अर्थ नराख्ने बताएका छन् । ‘राजाराम स्याङ्तानले जित्यो कि हा¥यो, त्यो ठूलो कुरो होइन । तर देशले जित्दैछ ।’, उनले बताए ।
हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा उनले देशभर बामपन्थीहरुले जितिरहेकाले अब समाजवाद हुँदै साम्यवादको यात्रा तय भएको बताए । उनले आफ्नो क्षेत्रमा विपक्षीहरुले कृत्रिम तथा प्राकृतिक घटनाक्रमहरु निर्माण गरी मतदाताहरुको मनस्थितिमा प्रभाव पारेको समेत बताएका छन् ।
उनले आफू सभासद रहँदा देशले नयाँ संविधान पाएकोमा गर्व गरेका छन् । आफ्नै सहभागितामा नयाँ संविधान लेखन कार्य सम्पन्न भई कार्यान्वयन चरणमा पुगेको र सोही संविधान कार्यान्वयनका लागि बामपन्थीहरु अग्रसर रहेको उनको भनाई थियो । आफ्नो निर्वाचन क्षेत्रका अधिकाँश साविकका गाविसहरु जोड्ने बाटोहरुको डिपिआर निर्माण भइसकेको, पुलको सर्वेहरु भइसकेकाले अब आउने सरकारले धमाधम ठेक्का प्रक्रिया सुरु गरी विकास निर्माणको काम गर्नुपर्नेमा उनले जोड दिए । ‘आबश्यक धेरै नीतिगत काम गरिएको छ, अब धमाधम टेन्डर प्रक्रियामा गई काम अघि बढाउन बाँकी छ ।’ स्याङ्तानले भने–‘मैले चुनाव हारेपछि अब काम सुरु हुने बेलामा अरु नै मानिस आएर जस लिने अबस्था देखिएको छ ।’
