हेटौंडा ५ मा माओवादी केन्द्रको वडा प्रशिक्षण भेला, वाइसिएल गठन

मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका वडा नम्वर – ५ ले शनिवार वडा प्रशिक्षण भेला तथा वनभोज कार्यक्रम आयोजना गरेको छ । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी वडास्तरमा पार्टीका आम कार्यकताहरुलाई संगठीत गराउँदै लैजाने उद्देश्यका साथ प्रशिक्षण कार्यक्रम आयोजना गरिएको वडा कमिटीका अध्यक्ष देवनारायण लामिछाने भीमसेनले जानकारी दिए ।
लामिछानेकै सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टीे केन्द्रीय सदस्य मानकुमारी पाख्रिन र प्रमिला पुलामीको प्रमुख आतिथ्यता रहेको थियो । उनीहरुले माओवादी केन्द्रलाई जनताप्रति थप जिम्मेवार बनाउँदै लैजानुपर्ने र स्थानीय निर्वाचनमा माओवादीका उम्मेदवारले जित्ने वातावरण बनाउन सबै आ–आफ्नो तह र तप्काबाट लागिपर्नुपर्ने बताए ।
कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी छिन्तु, उपत्यका प्रदेश समितिका उपाध्यक्ष प्रकाशचन्द्र पाण्डे प्रलोक, नेता भीम पाख्रिन, हेटौंडा उपमहानगरपालिका वडा नम्वर – १२ का वडाअध्यक्ष ललित घलानलगायत पार्टीका २५० भन्दा बढी नेता तथा कार्यकर्ताहरुकोे उपस्थिति रहेको थियो ।
सोही भेलाले वडामा माओवादी केन्द्रको युवा संगठन (वाइसियल) गठन गरेको छ । हरिप्रसाद ढकालको अध्यक्षतामा २३ सदस्यीय कमिटी गठन गरिएको हो ।उपाध्यक्षमा नारायण राई र अञ्जना पुडासैनी, सचिवमा रमेश बोगटी र कोषाध्यक्षमा अस्मिता विडारी चुनिएका छन् । भेलाले जेष्ठ कम्युनिष्ट मञ्च पनि गठन गरेको थियो भने ५ जना जेष्ठ नागरिकलाई सम्मान गर्नुको साथै २ सहिद परिवारलाई समेत सम्मान गरेको हो ।