मकवानपुरगढीको सबै वडा बालमैत्री घोषणा

तु खबर संवाददाता
२०७८ फाल्गुन २७, शुक्रबार १९:१९

मकवानपुर ।  मकवानपुरगढी गाउँपालिकाको सबै वडा बालमैत्री घोषणा भएको छ । आगामी चैत्र १२ गते बालमैत्री स्थानीय शासन घोषणा गरिने तयारीमा रहेको गाउँपालिकाले शुक्रबार ८ वटै वडामा विभिन्न कार्यक्रम गरी बालमैत्री वडा घोषणा गरेको हो ।

विभिन्न बालमैत्री सम्बन्धी नारा लगाएर, खैजेडी, गीत प्रस्तुत, नृत्य प्रदर्शन गरी सबै  वडा घोषणा गरिएको हो । बालमैत्री गाउँपालिका घोषणाको लागि पुग्नुपर्ने सुचकहरु सतप्रतिशत पुगिसकेकाले वडा घोषणा गरिएको बालमैत्री कार्यक्रम संयोजक रामप्रसाद दाहालले बताए ।

वडालाई बाल विवाहमुक्त, निकृष्ट बालश्रममुक्त बनाउन  बालमैत्री घोषणा गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताए । शुक्रबार बालमैत्री घोषणा भएको सबै वडाको सुचकहरु जिल्ला समन्वय समिति र बागमती प्रदेश सरकारले अनुगमन, मुल्यांकन हुने र १२ गते शनिबार बृहत कार्यक्रमको आयोजना गरी बालमैत्री पालिका घोषणा गरिने उनले बताए ।

वडा बालमैत्री घोषणा कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई, सबै वडाका सदस्य, वडाका कर्मचारी, राजनितिक दलका प्रमुख, विभिन्न सामाजिक संघ संस्थाहरु वन, सहकारी, टोलविकास, विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।