बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : यस्तो छ निर्णय

तु खबर संवाददाता
२०७८ फाल्गुन १८, बुधबार १९:४१

मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को आज (बुधबार) अपराह्न बसेको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले  प्रदेशका विभिन्न सामुदायीक तथा गैर नाफामुलक अस्पतालहरुलाई अनुदान दिने निर्णय गरेको छ ।  उक्त निर्णय कार्यान्वयनका लागि आवश्यक मापदण्ड तयार पारिने र असपतालको अवस्था अनुसार अनुदानको व्यवस्था गर्ने सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शार्म खनालले जानकारी दिए ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गतका योजनाहरुलाई अख्तियारी दिने र सम्झौता भएर काम सम्पन्न भएकाहरुको भूक्तानी दिने निर्णय, विगतमा कोरोना लगायतका कारण रोकीएको प्रदेश सरकारको समपूरक बजेट तर्फको योजनाका रकम फुकुवा गर्ने निर्णय गरेको छ । उक्त निर्णय अनुसार प्रदेशका २५ पालिकामा संचालन भएका प्रदेश सरकारको समपूरक बजेट तर्फको योजनाको ४ करोड ६८ लाख ४५ हजार रुपैयाँ सम्बन्धीत स्थानीय तहलाई फुकुवा दिने मन्त्री खनालले बताए ।

बैठकले सडक पूर्वाधार निर्माण तथा विस्तारका क्रममा सडक किनारका रहेका नीजि घर तथा जग्गाको क्षतिपूर्तिको समस्या समाधानको लागि कार्यविधि तयार पारेर पारित गरेको छ । विगतमा सडक पूर्वाधार निर्माण तथा विस्तारका क्रममा सडक क्षेत्रमा परेका घर तथा जग्गाको विवादका समस्या समाधानका लागि क्षतिपूर्ति निर्धारण कार्यविधि तयार पारेर पारित गरेको हो ।

उक्त कार्यविधि अनुसार आगामी दिनमा विकासका काम गर्दा सो क्षेत्रमा परेका घर तथा जग्गाको मुआव्जाको विवादहरु समाधानको लागि आवश्यक मापदण्ड अनुसार मुल्याङ्कन गरेर कार्यविधि अनुसार क्षतिपूर्ति दिन सहज हुने मन्त्री खनालले बताए ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले सरकारको खर्चलाई व्यवस्थित बनाउन खर्चको मापदण्डको कार्यविधि पनि पारित गरेको छ । सरकारका विभिन्न कार्यालय र मन्त्रालयको खर्चलाई व्यवस्थित, एक रुपता दिन उक्त कार्यविधि ल्याइएको मन्त्री खनालले बताए । यसले खर्चमा मितव्यीता कायम गर्नुको साथै पारदर्शीता वृद्धि गर्ने उनले बताए ।