चुनावी मैदानमा बुद्ध र आनन्द, कसले मार्ला बाजी ?
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सोमबार सम्पन्न मतदान अन्तरगत सभापति पदको मतगणना सकिएको छ । अन्तिम मत परिणाम अनुसार तीनै जना उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा धकेलिएको हो । कांग्रेसको विधानमा सभापतिको उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान रहेको छ । अब सबैभन्दा बढी मत पाएको उम्मेदवार र निकटमत प्रतिस्पर्धीबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।
मतपरिणाम अनुसार सभापति पदमा बुद्ध लामाले सबैभन्दा बढी मत पाएका छन् । उनले ५९२ मत प्राप्त गर्दा अर्का उम्मेदवार आनन्दराम पराजुलीले ५४२ मत र जयराम लामिछानेले ५३१ मत पाएका छन् । अब बुद्ध र पराजुली दोस्रो चरणको निर्वाचनमा जाँदैछन् भने जयराम ११ मतका कारण बाहिरिएका हुन् । लामा र पराजुली दुवै संस्थापन पक्षकै उम्मेदवार हुन् । दोस्रो चरणको निर्वाचनमा संस्थापनइतर समूह बाहिरिएको छ । यद्यपी सो समूहको सहयोग निर्णायक रहन्छ । सभापतिमा झिनो मतले पराजित भएको इतर समूहले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन । अर्थात् उक्त समूहको सहयोग कसलाई हुन्छ भन्ने हालसम्म एकिन गर्न सकिएको छैन ।
यता, कांग्रेस मकवानपुरको राजनीतिमा पटक–पटक बाजी मार्दै आएका र प्रभावशाली नेताको रुपमा छबि बनाएका हालका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सहयोग बुद्धलाई रहेको छ भने आनन्दराम कांग्रेस केन्द्रीय सह–महामन्त्री डीनासँग निकट भएको बताइन्छ । जिल्लामा कम्युनिष्टको किल्ला भत्काएर कांग्रेसलाई बलियो बनाउँदै लगेका बानियाँ चुनावी रणनीतिमा चलाख मानिन्छन् । १४ औँ महाधिवेशन अन्तरगत भएको प्रदेश अधिवेशनमा परिणाम आफ्नो पक्षमा पार्न सफल भएपछि उनको प्रभाव झनै बढेको छ । बानियाँको सहयोग पाएका लामा बुद्धलाई नेवि संघका केन्द्रीय महामन्त्री प्रभातकुमार दाहाल, जिल्लाका कार्यबाहक सभापति विष्णु लामिछानेलगायतको सहयोग रहेको छ ।
यता, केन्द्रीय सहमहामन्त्री डीनाको सहयोग आनन्दरामलाई भएको बताइन्छ । जिल्लाको पूर्व सचिव तथा निवर्तमान हेटौंडा उपमहानगर सभापतिलगायत विभिन्न पदमा रहेर काम गरिसकेका आनन्दरामलाई पनि बलियो उम्मेदवारको रुपमा देखिएका छन् ।
