सरकारको आग्रहमा आजको प्रतिनिधिसभा बैठक पनि स्थगित
काठमाडौँ । शुक्रबार १ बजेको लागि बोलाइएको प्रतिनिधिसभा बैठक आइतबारसम्मको लागि स्थगित भएको छ । सरकारको तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो । कानुनमन्त्री बडूको आग्रहमा आज बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी सारिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
यसअघि बिहीबार पनि सरकारकै आग्रहमा बैठक स्थगित गरिएको थियो । कांग्रेस सभापति देउवा एमसीसी जसरी पनि अनुमोदन गराउन लागिपरेका छन् । यता गठबन्धनकै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एमसीसीको विपक्षमा उभिएको छ । कांग्रेसले नेकपा एमालेसँग एमसीसी पास गर्ने सम्बन्धमा सहयोग मागिरहेको छ । पछिल्लो राजनीतिक घटनाक्रम अनुसार माओवादी, एकीकृत समाजवादी र कांग्रेसको गठबन्धन टुट्ने विश्लेषण गर्न थालिएको छ ।
