प्रतिनिधिसभा बैठक ६ गतेसम्मको लागि स्थगित
काठमाडौँ । प्रतिनिधिसभाको बैठक फागुन ६ गतेसम्मको लागि स्थगित भएको छ । आज बसेको बैठकमा सभामुख सापकोटाले फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए । बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजी चलिरहे पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराए ।
नाराबाजी रोकेर बैठक चल्ने वातावरण बनाउन सभामुख सापकोटाले पटक पटक आग्रह गरे पनि एमाले सांसदहरू नरोकिएपछि बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए । बैठकबाट केही शोक प्रस्ताव पारित भएको छ । दलहरुबीच सहमति जुट्न नसकेपछि आजको बैठकमा एमसीसी भने टेबुल भएन ।
