कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले नजाने, संसद्मा अवरोध जारी राख्ने
मकवानपुर । बुधबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेले विरोध जारी राख्ने भएको छ । बैठकको कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत सहभागि नहुने एमालेले जनाएको छ । आज बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।
एमालेले उठाउँदै आएको विषय सभामुखले सम्बोधन नगरेका कारण कार्यव्यवस्थामा उपस्थित हुनु र नहुनुको अर्थ नभएको एमालेको निश्कर्ष छ । यसअघि पटकपटक गएर ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नभएकाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा नजाने एमालेले जनाएको छ । पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुख सापकोटाले सदर नगरेको भन्दै एमालेले उनको राजीनामा माग्दै आएको छ । एमालेले आफ्ना माग सम्बोधन गर्न माग गर्दै प्रतिनिधि सभाको बैठकमा पनि विरोध जनाउँदै आएको छ ।
