मुख्यमन्त्री पाण्डे फिल्डमा, प्रदेशसभा भवन चैत्रभित्र निर्माण गरिसक्न निर्देशन
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले चैत्रभित्र प्रदेशसभाको सभाहल निर्माणको कार्य सम्पन्न गरिसक्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । पाण्डेले आइतबार दिउँसो प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोककुमार शाह, मन्त्रालय मातहतको शहरी विकास तथा भवन कार्यालय हेटौंडाका इन्जिनीयर, निर्माण कम्पनीका प्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिसहित फिल्डमा पुगेर निर्माण कार्यको अनुगमन गरेका थिए ।
बिगत लामो समयदेखि अलपत्र अवस्थामा छोडिएको उक्त सभाहल निर्माणको कार्यलाई पूर्णता दिनको लागि आफु अनुगमनमा पुगेको मुख्यमन्त्री पाण्डेले बताए ।
उनले भने ‘यो भवनको बारेमा सबै जनताले जानकारी पाउनुपर्छ । यो भवन निर्माणमा सबै जनताको लगानी रहेको छ । धेरै समयदेखि यो भवन अलपत्र अवस्थामा देखेको छु । यसबारे मैले प्रदेशसभाका सचिवमार्फत् जानकारी लिएर भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवलाई यसको काम समयमा सक्न निर्देशन दिइसकेको छु । हामी सबैको लगानी परिसकेको छ । त्यसैले यसलाई चाँडै सम्पन्न गरौं । निर्माण कम्पनीले पनि काम सकेपछि मात्र भुक्तानी पाउने भएकाले त्यसतर्फ केन्द्रीत हुनुपर्छ ।’
उनले ठेक्का सम्झौता भए अनुसार काम नभए कारवाहीको दायरामा ल्याइने बताए । ‘निर्माण कम्पनीका साथिहरुलाई समय सिमाभित्रै निर्माण कार्य सम्पन्न गर्न अनुरोध गर्दछु । समयमा काम सम्पन्न नभए तपाइहरुलाई रातोपत्र काट्नेछु । तपाईले बुझ्नु भएकै होला रातोपत्र के हो भनेर ?’, उनले भने । मुख्यमन्त्री पाण्डेले सो भवनको ठेक्का सम्झौता गर्दा नै त्रुटि भएको भन्दै अब त्यस्तो गल्ती गर्ने छुट कसैलाई नरहेको बताए । ठूलाठूला भवन निर्माणको कामसमेत एक/डेढ वर्षमा सम्पन्न हुने गरेकोमा यो ट्रस्टको भवनलाई १८ महिनाको म्याद दिनु नै गलत रहेको बताए । आगामी दिनमा त्यसलाई सुधार गर्दै भौतिक पूर्वाधार निर्माणको काम गर्दा क्यालेण्डर निर्माण गरेर गर्नुपर्ने र तत्काल भौतिक पूर्वाधार निर्माणको क्यालेण्डर बनाउन पनि उनले कर्मचारीहरुलाई निर्देशन दिए ।
बागमती प्रदेशसभा स्थापनाको ४ वर्ष पूरा भइसक्दा समेत प्रदेशसभा सचिवालयको आफ्नै भवन छैन । तत्कालिन समयमा क्षेत्रिय शिक्षा निर्देशनालय रहेको भवनबाट प्रदेशसभा सचिवालयका काम कारवाहीहरु संचालन भइरह्का छन् । सोही भवनबाट काम कारवाही संचालन गर्दै आएको प्रदेशसभा सचिवालय निकै साघुरो र अव्यवस्थित रहेको छ ।
प्रदेश सरकारले हाल बैठक बस्दै आएको भवनलाई प्रशासनिक काममा प्रयोग गर्ने र संसद् बैठक बस्नको लागि सो ट्रस्टको भवन निर्माण गर्ने योजना अनुसार २०७७ मा प्रदेशसभा हलको निर्माण थालिएको हो । २ सय ५० जना अट्ने सो सभाहल इपिएस स्याण्डबीच प्रविधिबाट प्यानल बोर्डको ट्रस्टको निर्माण गर्ने गरी भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन कार्यालय हेटौंडाले २०७७ कात्तिकमा ७ करोड ४१ लाख लागत अनुमानसहित ठेक्का आह्वान गरेको थियो ।
कार्यालयले घटाघट विधि अनुसार ४ करोड ९४ लाख रुपैयाँमा निर्माण कार्य गर्न अर्धाखाँची सगुन पारामाउण्ट जेभीलाई १८ महिनाको म्याद दिएर ठेक्का सम्झौता गरेको थियो । उक्त भवनको निर्माण कार्य आगामी २०७९ बैशाख २१ गते भित्र सम्पन्न गर्नुपर्ने हुन्छ । तर, ठेक्का सम्झौता भएको समयदेखि हालसम्म करिव १५ महिनाको अवधिमा सो सभाहलको २५ प्रतिशत मात्रै काम भएको छ ।
