नगरपालिकाले पन्छाउन सकेन हिउँ, त्रिभुवन राजपथ अझै अवरुद्ध
मकवानपुर । थाहा नगरपालिकाको दामन, सिम्भञ्ज्याङ् तथा अघोर क्षेत्रमा भएको हिमपातका कारण त्रिभुवन राजपथ शुक्रबार विहानैदेखि अवरुद्ध छ । सो क्षेत्र अन्तरगत पर्ने सडक खण्डमा जमेको हिउँ हटाउन नसकेपछि राजमार्ग आज सुचारु नहुने भएको हो । २ वटा जेसीबी प्रयोग गरी राजमार्गको हिउँ हटाएर सडक सुचारु गर्ने प्रयास गरिएको भएपनि लगातार हिमपात भइरहेकोले सो कार्य पुरा गर्न नसकिएको थाहा नगरपालिकाले जनाएको छ । मौसम सुधार भएपछि मात्रै राजमार्ग सुचारु हुने जनाइएको छ ।
उक्त क्षेत्रमा अहिले पनि निरन्तर हिमपातसँगै बर्षा भइरहेको कारण भोलि पनि राजमार्ग अवरुद्ध हुनसक्ने संभावना रहेको प्रहरीले जनाएको छ । सडकमा डेढ फिट अग्लो हिउँ जमेको बताइएको छ । गएराति सवा २ बजेदेखि वर्षासँगै बाक्लो हिउँ परेपछि विहानैदेखि यातायात अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाडौंबाट हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ जाने विभिन्न प्रकारको सवारीसाधनहरु सुचारु गर्दा दुर्घटना हुने जोखिम भएकोले यातायात संचालनमा रोक लगाइएको हो । राजमार्ग अवरुद्ध हुँदा यात्रुहरुले भने सास्ती व्यहोर्नुपरेको छ ।
