मकवानपुरको दामन र सिम्भञ्ज्याङमा भारी हिमपात
मकवानपुर । जिल्लाको थाहा नगरपालिकास्थित पर्यटकीय क्षेत्र दामन, सिमभञ्ज्याङ र अघोरमा भारी हिमपात भएको छ । गएराति देखि वर्षासँगै हिमपात भएपछि सो क्षेत्रको जनजीवन कष्टकर बनेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । तापक्रम माइनसमा झरेपछि चिसोले जनजीवन कष्टकर बनेको हो । अहिले दामनको तापक्रम शुन्य डिग्री छ भने सिम्भञ्ज्याङ क्षेत्रको तापक्रम माइनस २ डिग्री रहेको छ । यो समाचार तयार पर्दासम्म मकवानपुरको हेटौंडा, मनहरी, बकैया, इन्द्रसरोवर, भीमफेदीलगायत क्षेत्रमा पनि बर्षा भइरहेको छ ।
सडकमा ६ इन्च ढाक्ने गरी हिउँ थुप्रिएका कारण हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा समेत अवरुद्ध बन्न पुगेको छ । प्रहरीका अनुसार बिहान २ः १५ बजेदेखि सडक अवरुद्ध भएको हो । सो क्षेत्रमा अहिले पनि हिउँ परिरहेको कारण काठमाडौंबाट हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ जाने विभिन्न प्रकारको सवारीसाधनहरु सुचारु गर्दा दुर्घटना हुने जोखिम भएकोले यातायात संचालनमा रोक लगाइएको हो ।
अहिले हेटौंडाबाट गएका सयौं सवारीसाधनहरु सिमभञ्ज्याङ र अघोरमा लामबद्ध भएर गन्तव्यतर्फ जान कुरिरहेका छन् । हिउँ खेल्न जाने पर्यटकहरु पनि सडक अवरुद्ध भएपछि बीच गतव्यसम्म पुग्न सकेका छैनन् । सिम्भञ्ज्याङ क्षेत्रमा बर्षेनी हिमपात भएपछि चितवन, बारा, पर्सा, रौतहटलगायतका छिमेकी जिल्ला र अन्य जिल्लाहरुबाट पर्यटकहरु आउने गरेका छन् ।
