स्थानीय तहको निर्वाचनअघि पार्टीको जिल्ला अधिवेशन नगरौँ – लामिछाने

तु खबर संवाददाता
२०७८ माघ २०, बिहीबार १४:४९

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेले स्थानीय तहको निर्वाचनअघि पार्टीको जिल्ला अधिवेशन नगर्न प्रस्ताव गरेका छन् । विहिबार पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हतारमा काम गरेर फुर्सदमा पछुताउन नहुने बताए ।

उनले भने, ‘हतारमा निर्णय गरेर पछुताउने काम कांग्रेसले गर्नु हुँदैन । जेठ ५ अगावै स्थानीय तहको निर्वाचन हुँदैछ । यो बीचमा हामी आन्तरिक प्रतिष्पर्धामा जानु उपयुक्त हुँदैन । कुनै आग्रह, पूर्वाग्रह नराखी पहिला जनताकोबीचमा कांग्रेसलाई विजयी गराऔँ । त्यसपछि हामी आन्तरिक प्रतिष्पर्धा गरौँला ।’

उनले जिल्लाको अधिवेशन सकेसम्म सहमतिबाटै चयन गर्ने प्रयास गरिने बताए । सकेसम्म सहमति बाटै नेतृत्व चयन गरौँला, सहमति जुटेन भने हामी लोकतन्त्रमाथि विश्वास गर्छौ, निश्पक्षरुपमा प्रतिष्पर्धा गरौँला, लामिछानेले भने । उनले सहमति जुटेको अवस्थामा आफु पनि सभापति पदमा रहेर काम गर्न इच्छुक रहेको संकेत गरे ।

कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ बागमती प्रदेश सभापति निर्वाचित भएपछि स्वत जिल्लाको कार्यबाहक सभापतिको जिम्मेवारी पाएका लामिछानेले आज औपचारिक रुपमा पदभाग ग्रहण गरेका हुन् । पार्टीको १४ औँ महाधिवेशन अन्तरगत मंसिर अन्मित साता सम्पन्न बागमती प्रदेश अधिवेशनबाट मकवानपुर सभापति बानियाँ प्रदेश सभापति निर्वाचित भएपछि जिल्ला उपसभापति रहेका लामिछानेले कार्यबाहकको जिम्मेवारी पाएका थिए ।

केहि दिन अघि मात्रै प्रदेश सभापति बानियाँले जिल्लाका पदाधिकारीहरुलाई पनि जो जुन पदमा छ, सोही पदमा रहेका आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका थिए । जिल्लाको निर्वाचन नभएसम्मको लागि उपसभापतिलाई भने कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो । पदभार पश्चात कार्यबाहक सभापतिको अध्यक्षतामा पदाधिकारी तथा कार्यसम्पादन समितिको बैठक समेत बसेको छ ।