गठबन्धन सरकारबाट सबै धर्मालम्बीलाई सम्मान र समभाव : मन्त्री मोक्तान
मकवानपुर । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गठबन्धनको सरकारले सबै धर्मालम्बी समुदायको चाडपर्वमा विदाको व्यवस्था गरेर सम्मान र समभाव बढाएको बताएकी छन् । मन्त्री मोक्तानले मकवानपुरको भीमफेदी गाउँपालिका ३, ईक्चुङस्थित बुधबार ल्होछार पर्वको अवसरमा आयोजित एक कार्यक्रममा सो कुरा बताएकी हुन् ।
उनले तामाङ जातिको नयाँ वर्ष ल्होछारमा विदा दिएर सरकारले धेरै राम्रो काम गरेको दाबी गरिन् । ‘हिजो दशैंमा १५ दिन विदा दिन्थ्यो, अहिले ५ दिन विदा छ,’ उनले भनिन्, ‘सबै धर्म राम्रो र महान् रहेकाले सबै धर्मालम्बीलाई चाडपर्वमा विदा दिनु न्याय पनि हो ।’ तामाङ, चेपाङ लगायतको जातिले आ–आफ्नो नयाँ वर्ष र विशेष पर्वमा विदाको माग गर्नुपर्ने अवस्थाको अन्त्य भएको भन्दै संघीय सरकारको मन्त्रीपरिषदको बैठकले तामाङ समुदायलाई ल्होछारमा र चेपाङलाई न्वागी पर्वमा विदा दिने निर्णय गरेको बताइन् ।
‘हिजो देश हिन्दुराष्ट्र हुँदा सबैले जानीनजानी संस्कृत विषय अनिवर्या पढ्नुपर्ने बाध्यता थियो,’ उनले भनिन्,‘नेपाललाई हामीले धर्मनिरपेक्ष बनाएपछि संस्कृत अनिवार्य पढ्नुपर्ने बाध्यता हटाएर स्थानीय भाषामा पढ्न पाउने व्यवस्था गरेका छौं ।’ बौद्ध धर्मले स्वास्थ्यलाई असर गर्ने मद्यपान नगर्न सुझाव दिएको भन्दै उनले धर्ममा रहेको राम्रो कुरालाई लागु गर्न सबैलाई आग्रह गरिन् ।
टासी हिृक्सुङ बौद्ध गुम्बाका अध्यक्ष रामबहादुर पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रममा भीमफेदी गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष प्रितिलाल रूम्बा, टासी हिृक्सुङ बौद्ध गुम्बाका प्रमुख लामा विरसिं लामा, प्रहरी सहायक निरिक्षक खेमबहादुर कार्की, समाजसेवीहरु बद्री स्याङ्तान, अमृत बल, पदम दोङ, भरतसिं पाख्रिन, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।
ईक्चुङमा २०६२ सालदेखी सोनाम ल्होसार छाप्रो हुँदै गुम्बा परिसरमा मनाउन थालिएपनि भौतिक संरचनाको अभाव भएकाले सहयोगका लागि स्थानियवासीले अनुरोध गरेका थिए । कार्यक्रममा स्थानीय युवा, युवतीहरुले गीत तथा नृत्य प्रस्तुत गरेर ल्होछारलाई भव्यताका साथ मनाएका थिए ।
