राक्सिराङको विकट गाउँमा खोप अभियान

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाको विकट क्षेत्र मानिने वडा नम्वर ६ र ७ मा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरिएको छ । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलालगायतको उपस्थितिमा सोमबार खोप अभियानको सुरुवात गरिएको हो ।
राक्सिराङ ६ र ७ मा गरी ६ वटा खोप केन्द्र तोकेर कोरोना विरुद्धको भेरोसिल र कोभिसिल्ड खोप लगाउन सुरु गरिएको छ । सोमबार एकैदिन ६ वटा केन्द्रमा २ सय ५४ जनाले खोप लगाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय कापरीले जानकारी दिए । ६ र ७ नम्बर वडामा करिब एक हजार पाँच सय जनालाई खोप लगाउने लक्ष्य रहेको कापरीले बताए । खोप अभियान ३ दिनसम्म चल्नेछ । गाउँपालिकाभर हालसम्म ४ हजार जनाभन्दा बढीले खोप लगाइसकेका छन् । गाउँपालिकाले ६ र ७ नम्बर वडाबाहेक अन्य वडामा गत माघ ७, ८, ९, ११, १२, १३ र १७, १८, १९ गते खोप अभियान सञ्चालन गरेको थियो ।
टोल टोलमै पुगेर खोप लगाउने व्यवस्था गर्दा खोप अभियान प्रभावकारी बनेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । अभियानका क्रममा खोप लगाउन छुटेकाहरुले पनि गाउँपालिका केन्द्र चैनपुरमा आएर खोप लगाउन सक्नेछन् । ‘गाउँपालिका केन्द्रमै आएर खोप लगाउन टाढा भएका कारण हामीले टोलटोलमै खोप अभियान चलाएका हौं । अभियानमा खोप लगाउन छुटेकाहरुले गाउँपालिका केन्द्रमा आएर खोप लगाउन सक्नेछन् ।’ अध्यक्ष मल्लले भने ।