मकवानपुरमा ८० प्रतिशतले लगाएको कोरोनाविरुद्धको खोप

तु खबर संवाददाता
२०७८ माघ ९, आईतवार ०८:१७
file-photo

मकवानपुर । जिल्लाको ८० प्रतिशत भन्दा बढि नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपाल सरकारले चैतभित्रमा शतप्रतिशत नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउने नीति अवलम्वन गरेसँगै हाल मकवानपुरमा खोप अभियान तीव्र पारिएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवापुरको तथ्यांक अनुसार हालसम्म हेटौंडा उपमहानगरपालिकाका सबैभन्दा बढि ८५ प्रतिशत नागरिकले खोप लगाएका छन् । जिल्लाको दशवटै स्थानीय तहमध्ये राक्सिराङ, कैलाश र मनहरी गाउँपालिका खोप लगाउनेको संख्यामा कम देखिएपछि अहिले ‘टोल टोलमा खोप’ अभियान सञ्चालन गरिएको कार्यालयका प्रमुख भीमसागर गुरागाईंले जानकारी दिए ।

उनका अनुसार राक्सिराङमा ४५ प्रतिशत, कैलाशमा ६० प्रतिशत र मनहरीमा ५६ प्रतिशतले मात्रै खोप लगाएका छन् । ‘तीनदिन भित्रमा सवै स्थानीय तहमा खोप लगाउनेको संख्या ८० प्रतिशतभन्दा माथि हुने उनले बताए । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो केही दिनमा कोरोनाका बिरामी बढेसँगै खोप लगाउनेको संख्यामा पनि वृद्धि भइरहेको छ । जिल्लाको पूर्वीक्षेत्रमा पर्ने बागमती र बकैया गाउँपालिकामा खोप अभियान सञ्चालन गरेपछि अझै खोप लगाउनको संख्या बढ्ने कार्यालयले जनाएको छ ।