२ नम्वर प्रदेशको नामाकरणको लागि गोप्य मतदान शुरु
जनकपुरधाम । २ नम्वर प्रदेशको नामाकरणको लागि गोप्य मतदान शुरु भएको छ । यसअघि आजै प्रदेशको स्थायी राजधानीका लागि मतदान भएको थियो । पहिलो चरणको मतदानबाट प्रदेश सभाले स्थायी राजधानीमा जनकपुर चयन गरेको छ । केहीबेर स्थगित भएर अहिले प्रदेशसभाको दोस्रो बैठक बसिरहेको छ । आइतबार र सोमबारको छलफलपछि सभामुख सरोजकुमार यादवले सोमबार दोस्रो बैठक राखेर प्रदेशको नामाकरण गर्नेबारे मतदान गराएका हुन् ।
प्रदेश २ को राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत विभिन्न नामहरु प्रस्ताव गरेको छ । जसमा मधेस नाममा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी सहमत छन् । उनीहरुको प्रस्तावमै समितिले नाम प्रस्ताव गरेको हो । नेकपा एमाले र नेकपा एकीकृत समाजवादी प्रदेश २ को नाम जानकी राख्नुपर्छ भन्नेमा छन् । नेपाली कांग्रेसले प्रदेशको मिथिला–भोजपुरा राख्नुपर्छ भनेको छ । तर, बारा र पर्साका सांसदहरुले मध्य मधेस प्रदेश नाम राख्ने प्रस्ताव गरेका छन् ।
