मकवानपुरको तापक्रम माइनसमा
मकवानपुर । शनिवार बिहानदेखि मकवानपुरको केही क्षेत्रको तापक्रम माइनसमा झरेको छ । जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिकास्थित दामन, सिम्भञ्ज्याङलगायतका क्षेत्रमा तापक्रम माइनस २ डिग्रीसम्म पुगेपछि जनजीवन प्रत्यक्ष प्रभावित भएको छ । जिल्लाको सदरमुकाम हेटौंडा, चौघडा बजार, मनहरी बजारलगायत केही समथल भू–भागमा बिहानैदेखि हुस्सु लागेको छ ।
यो समाचार तयार पार्दासम्म हेटौंडाको तापक्रम भने ११ डिग्री रहेको छ । त्यस्तै पश्चिमी क्षेत्र मनहरी र पूर्वी मकवानपुरको बकैयाको तापक्रम १० डिग्री रहेको छ भने मकवानपुरगढी दरबार क्षेत्रको तापक्रम ८ डिग्रीमा झरेको छ । भीमफेदी र इन्द्रसरोवर गाउँपालिका क्षेत्रको तापक्रम भने ६ डिग्री रहेको छ ।
