सुध्रिएन पाँचौ महिनामा पनि देशको आर्थिक अवस्था

काठमाडौं । चालु आवको पाँचौ महिनासम्मको देशको आर्थिक अवस्थाको तथ्याङ्क आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । आज प्रकाशित देशको समग्र आर्थिक अवस्थाको प्रतिवेदनमा देशको आर्थिक अवस्था सुध्रिएको छैन, बरु झनै बिग्रदै गएको छ ।
गत मंसिर महिनासम्मको तथ्याङ्कमा राष्ट्रक ढुकुटी थप खुम्चिन पुगेको छ । जसले बढ्दो आर्थिक संकट थप बढ्ने देखिएको छ । मंसिर महिनासम्ममा शोधनान्तर स्थिति एक खर्ब ९५ अर्ब एक करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १०६ अर्ब ४८ करोडले बचतमा रहेको थियो ।
समीक्षा अवधिमा चालु खाता तीन खर्ब ६९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २३ अर्बले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ६६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ५२ करोडले घाटामा रहेको छ । गत आवको मंसिर महिनासँग यस आवको तुलना गर्दा पुँजीगत ट्रान्सफर २.४ प्रतिशतले कमी आई चार अर्ब ६४ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५७.० प्रतिशतले वृद्धि भई सात अर्ब सात करोड पुगेको छ । केन्द्रीय बैंकको तथ्याङ्क अनुसार मंसिर महिनासम्ममा मुद्रास्फीति ७.११ प्रतिशतले बृद्धि भएको छ ।