एमाले मकवानपुरको अध्यक्ष पदमा मेरो उम्मेदवारी कायमै छ – बद्रि लम्साल
मकवानपुर । नेकपा एमाले मकवानपुरको अध्यक्ष पदका आकांक्षी बद्रिप्रसाद लम्सालले आफ्नो उम्मेदवारी यथावत रहेको जनाएका छन् । उनले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचन समितिद्वारा विधि पद्धतिविपरित पार्टीको जिल्ला कमिटी घोषणा गरिएकोमा आपत्ती जनाए । लम्सालले जिल्ला कमिटी अध्यक्ष पदमा आफ्नो उम्मेदवारी कायमै रहेकोले भन्दै भ्रममा नपर्न सबैलाई आग्रहसमेत गरे ।
आइतबार बिहान निर्वाचन मण्डलका अध्यक्ष रामेश्वर रानाले एकालाल श्रेष्ठको अध्यक्षतामा १ सय ५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको घोषणा गरेका थिए । आइतबार दिउँसो ३ बजे अध्यक्षका आकांक्षी लम्सालले आफ्नो उम्मेदवारी यथावत रहेको भन्दै भ्रममा नपर्न आग्रह गरेका हुन् । आफूलगायत केही उम्मेदवारहरुको उम्मेदवारी कायमै रहेको अवस्थामा पार्टी नेतृत्वले सहमति भएको भन्दै जिल्ला कमिटी घोषणा गर्नु आपत्ती जनक भएको लम्सालले जनाए ।
‘निर्वाचन कमिटीले विधिपूर्वक निर्वाचन गराउन गइरहेको अवस्थामा नेतृत्वबाट हस्तक्षेप गरी पार्टीको विधान, निर्वाचन निर्देशिका समेतको ठाडो उल्लंघन गरी केन्द्रीयता लादेर गरिएको घोषणाले आम प्रतिनिधिको मनोभावनामा समेत गम्भीर आघात पुगेको छ’, लम्सालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उम्मेदवारहरुबीच राजीखुसीले हुने सहमति हुन नसकेको अवस्थामा निर्वाचनबाट नेतृत्व निर्माण स्थापित विधि भएको स्मरण गराउँदै लम्सालले स्थापित विधि र अभ्यासभन्दा बाहिरबाट लोकतान्त्रिक मूल्य र मान्यतालाई कुल्चँदै गरिएको घोषणालाई मान्यता दिन नसकिने उल्लेख गरे ।
यस विषयमा एमाले मकवानपुरका प्रमुख निर्वाचन अधिकृत अर्जुन अर्यालसंग कुराकानी गर्दा एकलाल श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएको बताए । नेतृत्व तहबाट श्रेष्ठको नाममा सहमति भएको जानकारी प्राप्त भएपछि आधिकारिक रुपमा निर्वाचित गरिएको उनले बताए ।

