युनिलिभरको करिब २ करोडको चियापत्ति प्रशासनद्वारा नष्ट

तु खबर संवाददाता
२०७८ पुष १९, सोमबार १९:४६

मकवानपुर । मकवानपुर प्रशासनले युनिलिभरको म्याद गुज्रिएको साँढे ७३ टन चियापत्ति नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले सो म्याद गुज्रिएका चियापत्ति आज (सोमबार) हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० स्थित डम्पिङ साइडमा पुरेको हो ।

कार्यालयले उक्त चियापत्ति जिल्ला प्रशासन कार्यालय मकवानपुरको गत मंसिर १२ गतेको फैसला तथा पुस १८ गतेको फैसला कार्यान्वयन गर्ने निर्देशन अनुसार खाद्य नियमावली २०२७ को दफा ९ (क) बमोजिम नष्ट गर्ने तयारी गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको अगुवाइमा प्रशासनले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ स्थित युनिलिभर नेपाल लिमिटेडको चिया प्रशोधन केन्द्रबाट बरामद भएको ७३ हजार ५५६ किलो म्याद गुज्रिएको चियापत्ति नष्ट गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले गत भदौ १५ गते उद्योग अनुगमनाका क्रममा उद्योगको चिया प्रशोधन केन्द्रबाट म्याद गुज्रिएका, लेवल स्पष्ट नभएका चियापत्ति फेला पारेको थियो । म्याद गुज्रिएका, लेवल स्पष्ट नभएका चियापत्ति फेला परेपछि उद्योगको चिया प्रशोन केन्द्र प्रशासनले शिल गरेको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च तथा संचारकर्मीहरुको रहोबरमा शिल काटेर उक्त चिया नष्ट गरेको हो । प्रशासनले करिब १ करोड ७९ लाख ९० हजार ८४० रुपैयाँ बराबरको चियापत्ती नष्ट गरेको हो ।