‘अब नेपालीको सुखको दिन आयो’–न्यौपाने
हेटौँडा, १८ मंसिर । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य लेखनाथ न्यौपानेले राष्ट्र जोगाउन वाम एकता भएको बताएका छन् । वाम शक्तिहरुको वर्चश्व हुँदा हुँदै पनि वाम शक्तिहरु अलग अलग रुपमा रहेकोले देशले सोचजस्तो गति लिन नसकेको उनको भनाई थियो ।
आइतबार हेटौंडा १६,१७ र १८ नम्बर वडाको हटियामा भएको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै न्यौपानेले अब नेपालीको सुखको दिनको सुरुवात भएको बताएका छन् । चुनावपछि बन्ने बाम सरकारले समाजवादी कार्यक्रमको शुरुवात गर्ने बताउँदै उनले भने–‘ जनताका आधारभूत सेवामा राज्यको दायित्व बढाउँदै लैजान्छौं त्यसपछि कोही जनता अभावमा रुनु पर्दैन ।’
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार कृष्णप्रसाद दाहालले वामगठबन्धनको पक्षमा जनलहर आएपछि काँग्रेस–राप्रपा आत्तिएको बताए । हार निश्चित हुँदै गएपछि वामगठबन्धनका उम्मेदवारहरु विरुद्ध विभिन्न कुप्रचारहरु गर्न थालेको उनको भनाई छ ।
त्यस्तै प्रदेश (क) का उम्मेदवार प्रेमबहादुर पुलामीले स्थानियको माग अनुसार विकास निर्माणका योजनाहरु अगाडि बढाउने बताए । आफू स्थानीय जतनासँग सदैब साथ रहेको बताउँदै जनताले आफूलाई विश्वास गरेर यो भन्दा अगाडि बिजयी बनाएको बताउँदै अबको निर्बाचनमा पनि बिजयी बनाउने विश्वास ब्यक्त गरे ।
नेकपा माओवादी केन्द्र १६ नम्बरका वडाध्यक्ष अभिनाश गजुरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य रामचन्द्र राई, एमाले अध्यक्ष मुनु सिग्देल लगायतको सहभागिता रहेको थियो ।
