मकवानपुरको सिमभञ्ज्याङमा हिउँ पर्नाले यातायात अवरुद्ध

तु खबर संवाददाता
२०७८ पुष १४, बुधबार ०८:३४
file-photo

मकवानपुर । मकवानपुरको थाहानगरपालिका अन्तरगत पर्ने सिमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको छ । गएरातिदेखि बाक्लो हिउँ पर्नाले आज बिहान सवा ७ बजेदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

उक्त स्थानमा अहिले हिउँ परिरहेकोले काठमाडौंबाट हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ जाने विभिन्न प्रकारको सवारीसाधनहरु सुचारु गर्दा दुर्घटना हुने सम्भावनाको जोखिम देखिएकोले यातायात संचालनमा रोक लगाएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए ।

मौसम सुधार भएमा आज दिउँसो अपराह्नसम्ममा हिउँ पन्छाएर यातायात सुचारु गर्ने तयारी भइरहेको प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए । अहिले हेटौंडाबाट गएका सयौं सवारीसाधनहरु सिमभञ्ज्याङ र अघोरमा लायनबद्ध भएर गन्तव्यतर्फ जान कुरिरहेको उनले बताए ।