एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई
काठमाडौं । एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपालले हात पारेको छ । ढाकामा शहीद सुह्रवर्दी नेशनल इन्डोर स्टेडियममा मंगलबार भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा उज्वेकिस्तानलाई ३–२ ले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो । निकै नै प्रतिस्पर्धात्मक पहिलो सेट ट्राइब्रेकरमा २६–२४ ले नेपालले अग्रता बनाएको थियो ।
सुरुवातदेखि नै उज्वेकिस्तानले खेलमा अग्रता बनाएपनि नेपालले १८–१८ मा अंक बराबरी गरेको थियो । त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक खेल २४–२४ मा पुग्दा नेपालले ट्राइब्रेकरमा बाजी मारेको हो । दोस्रो सेटमा पनि उज्वेकिस्तानले सुरुवातदेखि नै अग्रता बनायो ।
नेपाल १९–२३ ले पछि रहेको अवस्थामा उज्वेकिस्तानका प्रशिक्षकले खेल भावना विपरीत निर्णायकको निर्णयलाई नमान्दा रेफ्रीले रातो कार्ड देखाए । जसले गर्दा नेपालले अंक जोड्दै सर्भिस पनि पाएको थियो । त्यसपछि नेपालले खेल २४–२४ मा पुर्याउन सफल भएपनि दोस्रो सेट ट्राइब्रेकरमै २४–२६ ले गुमाएपछि उज्वेकिस्तानले खेलमा पुनरागमन गरेको थियो ।
तेस्रो सेटमा भने नेपालले २५–१५ ले सहजै जित्दै खेलमा २–१ को अग्रता बनायो । १०–११ ले पछि परेको नेपालले लगातार ८ अंक जोड्दै १८–११ को अग्रता बनाउँदै खेल २५–१५ ले सहजै जित्यो । तर, चौथो सेटमा उज्वेकिस्तानले फेरि कमब्याक गर्दै २५–२२ ले सेट आफ्नो पक्षमा पार्दै खेल २–२ को अवस्थामा पुर्यायो । त्यसपछि पाँचौ तथा निर्णायक सेट १५–११ ले जित्दै नेपालले उपाधि हात पार्यो ।
