मकवानपुरगढीमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

तु खबर संवाददाता
२०७८ पुष ७, बुधबार ०८:१४

मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आमभञ्ज्याङ युवा क्लब मकवानपुरगढी–५ को आयोजनामा आगामी पुष १४ गतेदेखि १७ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो । आयोजकले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो ।

प्रतियोगितामा सहभागी हुन यही पुस १३ गते दिउँसो ३ बजेसम्म समय तोकिएको छ । प्रतियोगितामा टिम दर्ता गर्न २ हजार दस्तुर लाग्ने कार्यक्रम संयोजक ईन्द्रप्रसाद सञ्जेलले बताए । खेलको टाइसिट भने पुस १३ गते नै दिउँसो ४ बजे सार्वजनिक गरिने उनले बताए । प्रतियोगितामा करिब १० देखी १४ वटा टिमले नाम दर्ता गर्नसक्ने अनुमान आयोजकले गरेको छ ।

प्रतियोगितामा प्रथम हुनेले ६६ हजार ६६६ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र, द्धितिय हुनेले ३३ हजार ३३३ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र, तृतीय हुनेले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेले ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष राजेश अधिकारीले जानकारी दिए । प्रतियोगितालाई मकवानपुरगढी गाउँपालिकाले प्रायोजन गर्ने भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार, वेष्ट स्पाइकरलाइ २ हजार, वेष्ट सेटरलाई २ हजार, वेष्ट ब्लकरलाई २ हजार र अनुशासित टिमलाई ३ हजार पुरस्कार रहेको आयोजकले जनाएको छ ।