फोनिज मकवानपुरले अक्षय कोष स्थापना गर्ने
मकवानपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको पाँचौ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । बैठक आज (सोमबार) नेपाल पत्रकार महासंघको भवनमा बसेको हो । फोनिज मकवानपुरका अध्यक्ष अशोक सुजन श्रेष्ठको अध्यक्षतामा बसेको उक्त बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
बैठकले आदिवासी जनजाति पत्रकारलाई तालिम संचालन गर्न, आपतकालिन सहयोग गर्न र फोनिज मकवानपुरको गतिविधिलाई सहज रुपमा संचालन गर्न अक्षय कोष स्थापना गर्ने निर्णय गरेको छ । बैठकले मकवानपुरमा रहेका आदिवासी जनजाति पत्रकारको तथ्याङ्क संकलन गर्न तीन सदस्यीय उपसमिति गठन गरेको छ ।
बैठकले फोजिज मकवानपुरका सचिव रुपा गुरुङ (पाख्रिन) को संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिमा सहसचिव मनिता राना र सदस्य भुपेन्द्र राना मगर रहेका छन् । आगामी पुस २४ गते हुने फोनिज बागमती प्रदेश अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न फोनिज मकवानपुरले आवश्यक सबै सहयोग गर्ने निर्णय गरेको सचिव गुरुङले बताईन् ।
साथै, फोनिज मकवानपुरको वार्षिक कार्ययोजना बनाउँन आदिवासी अगुवा, पत्रकार तथा फोनिजका उच्च नेतृत्वसँग समन्वय गर्ने निर्णय गरिएको उनले बताईन् । बैठकले फोनिज मकवानपुरको चौथो जिल्ला अधिवेशनबाट चयन भएको कृष्ण सारु मगर नेतृत्वको निवर्तमान कार्यसमिति र फोनिजको संघीय अनुशासन विभाग प्रमुख कुमार नेगीको संयोजकत्वको निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्ने निर्णय पनि गरेको छ ।
